+
+

विद्युत् पोलले सडक निर्माण रोकिनु भएन : भौतिकमन्त्री दाहाल

मन्त्री दाहालले बिहीबार झापा पाडाजुङ्गीदेखि दमक हुँदै मोरङ उर्लाबारी, पथरी, कानेपोखरी तथा विराटचोक क्षेत्रमा भइरहेका सडक विस्तार कार्य निरीक्षण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १६:४७

२५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युत् पोलका कारण राजमार्ग विस्तारमा ढिलाइ मान्य नहुने बताएका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणको क्रममा उनले सरकारी निकायबीच समन्वय र सहयोग अभावले निर्माण कार्य रोकिन नहुने बताएका हुन् ।

मन्त्री दाहालले बिहीबार झापा पाडाजुङ्गीदेखि दमक हुँदै मोरङ उर्लाबारी, पथरी, कानेपोखरी तथा विराटचोक क्षेत्रमा भइरहेका सडक विस्तार कार्य निरीक्षण गरे । त्यसक्रमा उनले विकास निर्माणको कामको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायबीच दरिलो समन्वय आवश्यक रहेको बताए ।

‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो, तर त्यसलाई एक हदसम्म समाधान गरेका छौं,’ मन्त्री दाहालले भने, ‘वन संरक्षण एवं विद्युत्, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होइन, सबैको साझा सरोकारका विषय हुन् ।’

विद्युत् पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाइ हुन नदिन केन्द्रिकृत ठेक्काको सट्टा आवश्यक ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्धन गर्नुपर्नेमा उनको जोड छ ।

‘पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र होइन, अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युत् पोल नसारिँदा काममा ढिलाइ हुनु भएन,’ मन्त्री दाहालले सडक विभाग एवं परियोजना निर्देशकलाई निर्देशन दिए, ‘तपाईंहरू पहल गर्नुस्, आवश्यक परे मन्त्रालयले समन्वय गर्ने छ ।’

पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको उनले उल्लेख गरे । त्यसकारण यसलाई तीव्र र चुस्त बनाउन सडक विभागलाई निर्देशन समेत दिए ।

यस राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याउने मन्त्री दाहालले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?