
२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै भनेका छन् ।
सरकारले ल्याएको अध्यादेशहरूबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अधिकारको प्रयोग शान्तिपूर्ण ढंगले गर्न आग्रह गरे ।
‘मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु,’ उनले भने,’ तर, सभ्य तरिका भाषामा गर्नुस् भन्ने मात्र सुझाव छ । शान्तिपूर्ण र सभ्यतापूर्ण हुनुपर्छ । अधिकार त प्रयोग गर्न पाइन्छ ।’
उनले यो अध्यादेश कसैको विरुद्ध नभएको बताए । संसद् रोकीरोकी पार्टी फुटाउने भन्दै गरिएको चर्चालाई उनले अफवाहको संज्ञा दिए । उनले प्रश्न गरे, ‘कसले बोलायो यो संसद् र रोकेको त ? नबोलाइकन सुरु नै हुँदैन त कसरी रोक्नु ? बोलाएपछि स्थगित गरियो भने पो रोकीरोकी भन्न पाइयो ।’
उनले विधेयकहरूको तयारी गर्न समय लिइरहेकोले संसद् बोलाउन ढिला भएको प्रष्टीकरण दिए ।
‘प्रतिनिधिसभा सुरु भएको पहिलो दिन नै हामी अध्यादेश संसद्मा प्रस्तुत गर्छौं । ६० दिनभित्र प्रतिस्थापन विधेयकहरू ल्याउँछौं र यिनलाई पारित गर्छौं,’ उनले भने ।
प्रतिक्रिया 4