
३ माघ, विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका– ७ का २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु घटनालाई प्रहरीले भवितव्य मृत्यु भएको निष्कर्षसहित अनुसन्धान टुङ्ग्याउने तयारी गरेको छ ।
पोष्टमार्टम रिपोर्ट, पाँचजनाको पोलिग्राफ जाँच र अनुसन्धानलाई आधार बनाएर प्रहरीले घटना भवितव्य भन्दै अनुसन्धान टुङ्ग्याउने तयारी गरेको हो । तर, स्थानीयले भने घटना शंकास्पद रहेको भन्दै प्रहरी अनुसन्धानमाथि नै आशंका जनाएका छन् ।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार भिरबाट लडेर थेगिमको मृत्यु भएको निष्कर्षमा अनुसन्धान पुगेको छ । ‘अनुसन्धानको क्रममा लडेर मृत्यु भएको देखियो, पोष्टमार्टम रिपोर्टमा त्यही छ,’ एसएसपी दाहालले अनलाइनखबरसँग भने, ‘चोटपटकको प्रकृति र गोली लागेको प्रकृति फरक हुन्छ ।’
स्थानीयहरू भने पालिका अध्यक्ष अमरराज माखिमसँगै शिकार खेल्न गएका बेला गोली लागेर थेगिमको ज्यान गएको दाबी गरिरहेका छन् । साथै, उनीहरूले अनुसन्धानलाई प्रभावित बनाइएको आरोपसमेत लगाएका छन् । स्थानीय गाउँपालिका अध्यक्षसँग सिकार खेल्न गएका बेला घटना भएको बताइरहेका छन् भने प्रहरीले अनुसन्धानको क्रममा भिर मौरीको मह काट्न जाँदा लडेर ज्यान गएको खुलेको दावी गरेको छ ।
लडेर मृत्यु भएको निष्कर्षमा पुग्नुअघि प्रहरीले थेगिमसँगै जंगल गएका पाँच व्यक्तिको ‘पोलिग्राफ टेस्ट’ गरेको थियो । प्रहरीले घटनामा जोडिएका गाउँपालिका अध्यक्ष माखिम, वडा नम्बर ७ का अध्यक्ष हेमचन्द्र रेग्मीसहित पाँचजनाको पोलिग्राफ जाँच गरेको हो ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी दाहालले थेगिमसँगै जंगल गएका स्थानीय ३५ वर्षीय राजकुमार तामाङको २३ पुसमा पोलिग्राफ जाँच गरिएको र सामान्य अवस्थामा उनको बयान र पोलिग्राफ जाँच गर्दाको बयान मिलेको बताए । ‘अनुसन्धानको क्रममा तामाङले हामीसँग भिरबाट लडेर थेगिमको मृत्यु भएको बताएका थिए । पोलिग्राफ जाँच गर्दा उनले ढाँटेको देखिएन्,’ एसएसपी दाहालले भने ।
पाँचथरका प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले पनि अनुसन्धान गर्दै जाँदा घटना भवितव्य देखिएको बताए । ‘पालिका अध्यक्ष, वडाध्यक्ष र घटनास्थल पुगेकासहित पाँचजनाको पोलिग्राफ टेस्टसमेतको रिपोर्ट हेर्दा घटना शंकास्पद देखिएन्,’ पाँचथरका प्रहरी प्रमुख डिएसपी बुढाथोकीले भने ।
मिक्लाजुङ गाउँपालिका अध्यक्ष माखिम इजाजतप्राप्त बन्दुक बोकेर बेलाबेला सिकार खेल्न जाने गरेको बताउने स्थानीय २१ मंसिरको राति पनि उनी वडाध्यक्ष रेग्मी, थेगिमसहितलाई लिएर सिकारमा गएको बताउँछन् ।
प्रहरीका अनुसार गत २१ मंसिरको राति मिक्लाजुङ– ७ को जंगलमा भिरबाट लडेर मृत्यु भएको भनिएका थेगिमको भोलिपल्ट २२ मंसिरको दिउँसो उर्लाबारीमा पोष्टमार्टम भएको थियो । सोही साँझ उनको अन्तिम संस्कार भएको थियो ।
परिवारका सदस्यका अनुसार २१ गतेको घटनाको विषयमा परिवारका सदस्यले २२ मंसिरको बिहान मात्रै जानकारी पाएका थिए । भिरबाट लडेर घाइते भएपछि थेगिमलाई उपचारका लागि घरकै बाटो हुँदै लगिएको भनिए पनि परिवारलाई जानकारी गराइएको थिएन ।
त्यति मात्र नभई हतारमा पोष्टमार्टम गरेर सोही साँझ अन्तिम संस्कार गरिएकाले घटना शंकास्पद देखिएको स्थानीयले बताउँदै आएका छन् । घटनापछि पीडित परिवारलाई गाउँबाट विस्थापित हुन बाध्य बनाइएको पनि स्थानीयको भनाइ छ ।
अन्त्येष्टिमा सहभागी स्थानीयले दाहसंस्कार गर्नुअघि मृतकको कन्चटमा सानो तर गहिरो तथा टाउकोमा पनि गहिरो चोट देखिएको बताउने गरेका छन् । दाहसंंस्कारका बेला खिचिएको भिडियोमा समेत मृतकको आँखाको डिलछेउ कन्चटमा गहिरो चोट लागेको देखिन्छ ।
प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘हेड इन्जुरी’ उल्लेख छ । ‘शरीरका अन्य भागमा घाउँचोट लागेको तथा करङ भाँचिएको अवस्थामा रहेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ,’ एसएसपी दाहालले बताए ।
उनले भिरबाट लड्दा शरीरका विभिन्न स्थानमा चोट लागेको हुन सक्ने बताए । ‘पोष्टमार्टम रिपोर्टअनुसार गोली लाग्दा जस्तो चोटपटक डेड बडीमा पाइएन,’ उनले भने, ‘मान्छे लडेको देखिन्छ, सिकार खेल्न गएको भन्ने पुष्टि भएन् ।’
घटनाको विषयमा २२ मंसिरमा मृतककी दिदी विष्णुमाया थेगिमले थाहा पाएकी थिइन् । सोही दिन उनले भाइलाई उपचारका लागि लिएर गएका हौँ भन्नेहरूको दबाबमा परेर भवितव्य ज्यानको जाहेरी दिएर शव बुझेकी थिइन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिइएको जाहेरीमा २१ गते राति ८ बजे काम्ले खोलाको भिरबाट लडेको भन्ने उल्लेख छ । सो जाहेरी जबरजस्ती दिन लगाइएको स्थानीयको दाबी छ ।
पछि घटना शंकास्पद रहेको र गाउँपालिका अध्यक्षसँगै सिकार खेल्न गएको थाहा पाएपछि विष्णुमायाले ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । घटनापछि मृतकको परिवार गाउँबाट विस्थापित भएर झापास्थित आफन्तको घरमा बसिरहेको छ ।
अध्यक्ष भन्छन्– राजनीतिक प्रतिशोध साँधियो
गाउँपालिका अध्यक्ष माखिम भने आफूमाथि राजनीतिक प्रतिसोध साधिएको दाबी गर्छन् । घटनामा नाम जोडिएपछि प्रहरीले माखिमसँग बयान लिएको थियो । तर, प्रहरीले उनको घरमा भएको बन्दुकको परीक्षण नगरेको भन्दै स्थानीयले प्रहरीकै मिलेमतोको आशंका गरेका छन् ।
अनुसन्धानका लागि पाँचथर पुगेर फर्किएका एसएसपी दाहाल भने गोली लागेको नदेखिएका कारण हतियार जाँच नगरिएको बताउँछन् । ‘डेड बडीमा गोली नै लागेको नदेखिएपछि हतियार टेस्ट गर्नुको औचित्य रहँदैन,’ उनले भने ।
घटनाको अनुसन्धानपछि प्रहरीले प्रारम्भिक प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय पाँचथरमा बुझाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पाँचथरका सहायक जिल्ला न्यायाधीवक्ता बसन्त काफ्ले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन भइरहेको बताए ।
पूर्वअध्यक्षको प्रश्न : शव जलाउन किन हतार गरियो ?
मिक्लाजुङ गाउँपालिका– ७ का पूर्ववडाध्यक्ष मीनराज माखिम प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान नगरेको बताउँछन् । तीनवटा कारणले विषयले शंकास्पद भएको उनको भनाइ छ ।
परिवारलाई थाहा नदिई उपचारका नाममा रातारात लैजानु, बुबा सुतेकै घर अगाडिको बाटो लैजाँदा पनि जानकारी नदिइनु र हतारमा शव जलाउनले घटना शंकास्पद बनाएको पूर्ववडाध्यक्ष माखिमको तर्क छ । उनले प्रहरीले अनुसन्धानमा लापरबाही गरेकाेसमेत दावी गरे ।
प्रतिक्रिया 4