
९ माघ, काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राममा डेमोक्रेट शब्दको खोजी गर्दा नतिजा नआउने बनाइएको घटनाले तरङ्ग उत्पन्न गरेको छ ।
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्ता पुनरागमनसँगै इन्स्टाग्रामको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गले देखाएको सदासयताको पृष्ठभूमिमा मेटा मातहतकै इन्स्टाग्रामको सर्चमा Democrat वा Democrats को सर्च रिजल्ट नदेखिने भएपछि मेटा कम्पनी आलोचित बनेको छ। तर, मेटाले भने यस्तो समस्या नियतबस नभएको र समाधानका लागि प्रयास भैरहेको जनाएको छ ।
कतिपय प्रयोगकर्ताले सोमबार डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै इन्स्टाग्राममा यस्तो समस्या देखिनुलाई मेटा कम्पनीको राजनीतिक पूर्वाग्रहको परिणाम भएको टिप्पणी गरेका छन् । स्मरण रहोस् ट्रम्पको पदभार ग्रहण समारोहमा मेटाका सिइओ जुकरबर्ग पनि सहभागी भएका थिए ।
सोसल मिडिया विज्ञ म्याट नाभाराका अनुसार यो वस्तुतः एउटा प्राविधिक समस्या भएको हुनसक्ने सम्भावना रहेपनि इन्स्टाग्रामका लागि निकै लज्जाजनक परिघटना भएको बताएका छन् ।
अत्यन्तै ध्रुवीकृत वातावरणमा नियतबस नभएका यस्तो खालका घटनाले समेत विभेदको आरोपलाई बढावा दिने उनको भनाइ छ ।
उनी भन्छन्, ‘यस्तो समस्या द्रुत रुपमा समाधान गर्न सकिएन भने यसले षडयन्त्र सिद्धान्तलाई बढावा दिने खतरा रहन्छ र मेटाको प्रतिष्ठामा समेत क्षति पुर्याउँछ।’
बीबीसीका अनुसार इन्स्टाग्राममा #Democrat वा #Democrats टाइप गरेर सर्च no result देखाउँछ । तर Republican ह्यासट्याग सर्च गर्दा भने ३३ लाख पोस्ट देखाउँछ ।
त्यस्तै ह्यासट्यागको साटो इन्स्टाग्राममा Democrats मात्रै लेखेर सर्च गर्दा चाहिं प्रयोगकर्तालाई अभिवादन गर्दै हामीले यसका नतिजाहरु लुकाएका छौँ भन्ने लेखिएको देखिन्छ । साथै तपाईंले खोज्नुभएको शव्दको नतिजामा संवेदनशील सामाग्री हुनसक्ने भनेर समेत सचेत गराउँछ ।
उता मेटाले भने राजनीतिक विषयका ह्यासट्यागमा समस्या देखिएको विषयमा आफू सचेत रहेको र त्यसलाई समाधान गर्ने प्रयास भइरहेको जनाएको छ ।
जुकरबर्ग र ट्रम्प
स्मरण रहोस्, डोनाल्ड ट्रम्प सत्तामा पुनरागमन गरेसँगै ट्रम्प प्रशासनसँग नजिकिएका प्रविधिका दिग्गज व्यक्तित्वहरुको सूचीमा जुकरबर्ग पनि थपिएका छन् । हालै मात्र जुकरबर्गले मेटाका प्लाटफर्महरुमा पोस्ट गरिने सामाग्रीहरुमाथिको बन्देजलाई खुकुलो पार्ने घोषणा गरेका थिए ।
जुकरबर्गले मेटाको विश्व मामिला प्रमुखको रुपमा सर निक क्लेगलाई हटाएर रिपब्लिकन पार्टीका चर्चित कार्यकर्ता जोएल कप्लानलाई नियुक्त गरेका छन् ।
गत नोभेम्बरमा जुकरबर्गले डोनाल्ड ट्रम्पलाई उनको मारा लागोस्थित रिसोटैमा भेटघाट गरेका थिए भने ट्रम्पको चुनावी कोषमा पनि सहयोग गरेका थिए ।
ट्रम्प र उनका समथर्कहरुले यसअघि मेटा तथा यसका प्रमुख जुकरबर्गको तिव्र आलोचना गर्ने गर्दथे । मेटाका प्लाटफर्महरुमा दक्षिणपन्थी विचारहरुमाथि बन्देज गरिएको भन्दै उनीहरुले जुकरबर्गलाई जेलमा हाल्ने धम्की पनि दिएका थिए।
तर पछिल्लो समय ट्रम्प जुकरबर्गसँग सन्तुष्ट छन् । मेटाले उल्लेख्य सुधार गरेको र आफू मेटाको पछिल्लो प्रयासबाट प्रभावित भएको ट्रम्पको भनाइ छ। बीबीसीबाट
प्रतिक्रिया 4