११ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले काठमाडौंमा जारी जय नेपाल कप टी२० अन्तर विश्वविद्यालय क्रिकेटमा तेस्रो हार व्यहोरेको छ । योसँगै पूर्वाञ्चल समूह चरणबाटै बाहिरिएको छ ।
आज भएको पहिलो खेलमा पूर्वाञ्चल बंगलादेशको ढाका विश्वविद्यालयसँग १५२ रनको फराकिलो अन्तरले पराजित भयो ।
ढाकाले दिएको २३६ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल १९ ओभरमा ८३ रनमै समेटियो । धिरज यादवले सर्वाधिक १७ रन बनाए । ढाकाका लागि सारेर साकिबले ४ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको ढाकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रनको विशाल योगफल खडा गरेको थियो। मोहमद आस्वीर रहमानले ९६ रन बनाए भने सादिक खानले ५० रन बनाएका थिए ।
पूर्वाञ्चलका नितेश यादव, धिरज यादव, अमितकुमार मण्डल र अभिषेक मण्डलले १-१ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा लखनउ विश्वविद्यालयले काठमाडौं विश्वविद्यालयलाई ७३ रनले हरायो । लखनउले दिएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८७ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया 4