
१२ माघ, काठमाडौं । एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले मयूरधाप औद्योगिक क्षेत्रको योजना तुहाउन सरकारी निकायकै विभिन्न प्रभावशाली व्यक्तिहरू लागेको बताएका छन् ।
गृहजिल्ला मकवानपुरको हेटौंडामा शनिबार पत्रकार महासंघका पदाधिकारी तथा जिल्लामा क्रियाशील पत्रकारहरूसँगको भेटमा उनले मध्यवर्तीको निकटक्षेत्र भन्दै वनका सचिवले औद्योगिक क्षेत्र निर्माणको योजना तुहाउने काम गरिरहेको बताए ।
मयूरधाप औद्योगिक क्षेत्र निर्माण भए त्यहाँ ६२ वटा उद्योग स्थापना हुने सुनिश्चितता भइसकेको भन्दै उनले त्यसले हजारौँलाई रोजगारी दिने र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने चर्चा गरे । मकवानपुरे जनताको लागि आर्थिक समृद्धिका लागि पनि औद्योगिक क्षेत्रको ठूलो योगदान रहने भन्दै उनले तर, त्यस्तो योजना तुहाउन सरकारका विभिन्न निकायका अधिकारी लागिरहेको बताए ।
वन र निकुञ्जको विभिन्न प्रावधान लगाएर योजना रोक्न खोजिएको उनको भनाइ छ । कार्यक्रममा उनले भने, ‘मयूरधाप औद्योगिक क्षेत्रको योजना तुहाउने रणनीतिअनुसार वनका सचिवले सूचना जारी गराएका छन् । गौरवको आयोजना सञ्चालनमा निकुञ्ज र वनका कर्मचारीको दादागिरी देखिएको छ ।’
२०७२ सालमा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको औचित्य र आवश्यकताबारे प्रश्न गर्दै वन र निकुञ्जको कर्मचारीबाट पत्र जारी गर्नु जायज नभएको उनको भनाइ छ ।
प्रतिक्रिया 4