
१५ माघ, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले १५ औँ गाउँसभाबाट चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट संशोधन गरेको छ । पालिकाले २ करोड ३० लाख थप आयव्यय अनुमानसहित बजेट बढाएको हो ।
कैलाशले यस वर्ष २७ करोड ३७ लाख बजेट ल्याएको थियो । गाउँसभाबाट संशोधितसहित २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बजेट बनाएको हो ।
उपाध्यक्ष बालकुमार मल्लले पेश गरेको बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप सम्बन्धी प्रस्ताव गाउँसभाबाट सर्वसम्मत पारित भएको छ ।
थप गरिएको बजेट आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । चालुतर्फको ८ वटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट थप गरिएको उनले जानकारी दिए । पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप र २९ वटा नयाँ योजना थपिएको छ ।
चालुतर्फ २५ वटा योजना र पुँजीगततर्फ १४ वटा योजनाको बजेट रकमान्तर गरिएको उनले बताए । गाउँसभाबाट स्थानीय खानेपानी सरसफाई ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित तथा ३ वटा ऐन र २७ वटा कार्यविधि संशोधन गरिएको छ ।
चेली प्रोत्साहनबाट ९ जनालाई सम्मान
गाउँपालिकाले विगतबाट चेली प्रोत्साहन कार्यक्रममार्फत युवतीहरूलाई सम्मानमार्फत हौसला बढाउँदै आएको छ । कम्तिमा प्लस टु उर्तीण गरी २० वर्ष उमेर कटेपछि मात्र विवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गर्दै आएको हो ।
गाउँसभाको अबसरमा मंगलबार ९ जना चेलीलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले जानकारी दिए । अम्बिका अर्याल, अनिता रुम्बा, कल्पनामाया घलान, सविना रुम्बा, हिरा मुक्तान, देवकी बर्तौला, लक्ष्मी ब्लोन, शान्ति तितुङ र अबिगेल प्रजालाई सम्मान गरिएको हो । उनीहरूलाई जनही २० हजार नगद प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष लोक मुक्तानले विवाह अघि कम्तिमा पनि प्लस टु पास गर्नुपर्ने र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरिएको बताए । कैलाश गाउँपालिकामा विगतमा कम उमेरमै विवाह गर्नेहरूको संख्या बढी थियो । सामाजिक अभियानले कम उमेरमै विवाह गर्नेहरूको संख्यालाई घटाउँदै लगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषकतर्फ श्यामबहादुर गोले, उद्यमीतर्फ कुमारीमाया मुक्तान, कार्यालय सहयोगीतर्फ रामप्रसाद प्रजा, सामाजिक परिचालकतर्फ राजेन्द्र थिङ, सिनियर अनमीतर्फ तारा थापा, सिनियर अहेवतर्फ सुधिरकुमार कुशवाहा, प्राविधिक सहायकतर्फ दीपेन्द्र अधिकारी, निर्माण व्यवसायीतर्फ आयूश्री विल्र्डसका चेतबहादुर थापा, उपभोक्ता समिति अध्यक्षतर्फ हरिदास रिजाल र सञ्चारकर्मीतर्फ पोष्टराज अधिकारीलाई सम्मान गरेको छ ।
पूर्वशिक्षकतर्फ ढोडाई चौधरी र तारणीप्रसाद चौधरी, सहजकर्तातर्फ पार्वती खतिवडा, शिक्षकतर्फ शान्ति खतिवडा र अर्जुनप्रसाद लामिछाने, विद्यार्थीतर्फ कृष्टिना बानियाँ, हरिओम बर्तौला र विवस अर्याल, प्रधानाध्यापकतर्फ लक्ष्मीदेव घिसिङलाई सम्मान प्रदान गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।
प्रतिक्रिया 4