
काठमाडौं । गीत रिलिजअघि फिल्म ‘फेरि रेशम फिलिली’ले दोस्रो पोस्टर सार्वजनिक गरेको छ । निर्माताले फिल्मको पहिलो गीत ‘फेरि जालमा’ विहिबार सार्वजनिक गर्दैछन् ।
सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भुइँमा लडेर राहदानी समातेको अवस्थामा देखिएको छ । सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ ।
पोस्टरको पृष्ठभूमिमा धरहरा र न्यूयोर्कको ‘स्ट्याचु अफ लिबर्टी’ देख्न सकिन्छ । पोस्टरले अमेरिका जान मरिहत्ते गर्ने नेपाली पात्रलाई दर्शाएको छ । पोस्टरमा विनयमाथि सुपुष्पाले तेस्र्याएको बन्दुकको रहस्यमा नै कथा बुनिएको बुझ्न सकिन्छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड निर्वाचित भएपछि अवैध आप्रवासीलाई फिर्ता गर्न उनले पहल गरिरहेका छन् । अमेरिकी सरकारले सार्वजनिक गरेको सूचीमा १३ सय भन्दा धेरै अवैध नेपाली आप्रवासी फिर्ता हुने जनाइएको छ ।
यो पृष्ठभूमिमा अमेरिकी सपना र हैरानीको कथा समेटिएको फिल्म ‘फेरि रेशम फिलिली’ले यस्तै थिममा पोस्टर सार्वजनिक गरेको हो । पोस्टर हेर्दा धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति, आकर्षणलाई पारिवारिक तथा सामाजिक नजरबाट फिल्मले नियाल्न खोजेको समेत बुझ्न सकिन्छ ।
दोस्रो पोस्टरमा कलाकारलाई क्यारेक्टर लुक्समा देखाइएको छ । फिल्मलाई नीरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ ।
सिनेमा आर्ट र भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनकविक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
प्रतिक्रिया 4