+
+

ज्येष्ठ नागरिक प्रति सरकार संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था विगतमा एमाले नेतृत्वको सरकारले नै अघि बढाएको पौडेलले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १७:२३

२१ माघ, लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको सोमबार भवन शिलान्यास गर्दै पौडेलले नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताएका हुन् । उनले यसको उदाहरण २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको चर्चा गरे ।

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको जिकिर गरे ।

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका इच्छा र आकांक्षा पूरा गर्दै अघि बढिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

सांसद वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताए ।

रुपन्देहीको तिलोत्तमा– ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा ५०० ज्येष्ठ नागरिकलाई दिवा सेवा प्रदान गर्ने गरी पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?