+
+

‘वृद्धहरूको सुरक्षाकै लागि वृद्धभत्ता रोक्नुपर्ने अवस्था आउन सक्छ’

अहिले परिवार तीन ठाउँमा छ । एउटा गाउँमा छ, आफ्नो पहिचान राखेका वृद्धहरू गाउँमै बसेका छन् । अर्को शहरमा छ, पढ्ने छोराछोरी, बुहारी शहरमा छन् । अनि श्रम बेच्नेहरू विदेशमा छन् । ज्येष्ठ नागरिकको पक्षमा बोल्दिने कोही छैनन् ।

विष्णु दाहाल, मानवशास्त्री विष्णु दाहाल, मानवशास्त्री
२०८१ माघ २५ गते १९:३०

परिवारको मूल उद्देश्य भनेको आफ्ना सदस्यको सुरक्षा गर्नु हो । परिवारको सदस्यको सुरक्षा हिजो बुवाले गर्नुहुन्थ्यो भने उहाँ अब ‘रिटायर्ड’ हुनुभयो । अब यो जिम्मेवारी जवान छोराको काँधमा आएको छ । तर विडम्बना के भने जवान छोराहरू अहिले विदेशमा छन् ।

यो ‘ब्रेन ड्रेन’को असरले ज्येष्ठ नागरिकसम्मलाई प्रभावित पारेको छ । भनिन्छ, मानिसको जीवनकालमा तीन वटा कुरा कहिल्यै पनि एकै पटक आउँदैनन् । अवसर आउँदा समय र शरीरमा शक्ति हुँदैन । अवसर नहुँदा समय र शक्ति हुन्छ । अन्तिममा समय पनि हुन्छ, अवसर पनि हुन्छ तर शरीरमा शक्ति हुँदैन ।

हाम्रा ज्येष्ठ नागरिकहरू चाहिं तेस्रो अवस्थामा छन् । अर्थात् यतिबेला उहाँहरूसँग सबै कुरा छन् । पैसा, घर बहाल आउँछ, परिवारले आफ्नो व्यवस्था गरेका छन् । जवान छोराले विदेशबाट पैसा पठाउँछन् । यी सबै स्रोत–साधनको व्यवस्था छ । तर दुर्भाग्य अब त्यो स्रोत परिचालन गर्न मानिस छैनन् ।

वृद्धहरू एउटा उमेर पछि एकांकी हुन्छन् । एक्लै बस्न रुचाउँछन् । श्रीमान् र श्रीमती बीच पनि खटपट हुन्छ । परिवारका अरू सदस्यसँग पनि कुरा मिल्दैन । त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्न खोज्छन् । र, अन्तिममा एक्लै बस्छन् ।

एकांकी भइसकेपछि उनीहरूले आफ्नो कुरा सुनाउने मान्छे समेत घरपरिवारमा भेट्दैनन् र घर बाहिर गएर आफ्ना कुरा सुनाउँछन् । घरभित्रका बारेमा बाहिर धेरै अन्तरक्रिया हुन्छ । अनि बाहिरका मानिसहरू ती वृद्धवृद्धाहरूलाई आफ्नो लाग्न थाल्छ ।

आफ्नो ठानेपछि घरभित्रका पारिवारिक बेमेलदेखि आर्थिक हिसाब–किताबका भित्री विषयहरू पनि बाहिर सार्वजनिक हुन्छन् । घरमा ज्येष्ठ नागरिक एक्लै भएकोदेखि गरगहना, नगदसम्मका बारेमा सबै कुराहरू बाहिरका मान्छेले थाहा पाउँछन् । यति सूचना पाइसकेपछि आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले ज्येष्ठ नागरिक माथि ‘टार्गेट’ गर्ने र घटना घटाउने गरेको देखिन्छ ।

वृद्धमाथि हुने अपराधको विश्लेषण गरियो भने अधिकांश आर्थिक अपराधमा जोडिएको देखिन्छ । सम्पत्ति खोसेर लिने खाने, अनि हत्यासम्म गर्ने गरेको देखिन्छ । वृद्ध पनि छ । त्यसमाथि एक्लै बस्छ । नगद तथा गरगहना पनि छ । त्यसमाथि प्रतिकार गर्न सक्ने अवस्था छैन । प्रतिकार गर्ने अर्को मान्छे पनि छैन भनेपछि अपराध गर्नेले यसलाई सुनौलो मौका ठानेको देखिन्छ । अन्ततः यसले हत्यासम्मको बाटोमा वृद्धलाई पुर्‍याउँछ ।

एउटा परिवार तीन ठाउँमा बस्नु भनेको पारिवारिक खर्च बढ्नु सँगसँगै तीनै वटा परिवार असुरक्षित हुनु पनि हो । यसको सबैभन्दा उच्च जोखिममा अरूको सहारामा बाँच्नुपर्ने ज्येष्ठ नागरिक छन् । समाज नै अहिले अपराधीकरणको बाटोमा जान थालेको छ ।

युवाहरू यही गतिमा विदेशिने र वृद्धवृद्धाहरू एक्लिने हो भने सरकारले दिने वृद्ध भत्ता नै रोक्नुपर्ने अवस्था पनि आउन सक्छ । अहिले नै हामी ‘वृद्धभत्ताका लागि हत्या’ समाचार सुन्न थालिसक्यौं भने यो दर आगामी दिनमा झनै डरलाग्दो रूपमा अघि बढ्न सक्ने देखिन्छ ।

अर्कोतर्फ सांस्कृतिक कोणबाट हेर्ने हो भने हामी लाहुर जाने कल्चरबाट हुर्केका छौं । अधिकांश युवामा घर बस्नुहुन्न, लाहुर जानुपर्छ भन्ने सोचाइ छ । यो ‘लाहुरे’ संस्कृतिले पनि ज्येष्ठ नागरिकलाई एक्लो बनाएको छ । यसले पनि ज्येष्ठ नागरिकको सुरक्षामा चुनौती थपिएको देखिन्छ ।

हामी स्वतन्त्र भनेर स्वच्छन्दतिर लागेका छौं । सबै एक्लै–एक्लै बस्न थालेका छौं । परिवार भनेको सबैको वासस्थान हो भन्ने कुरा बिर्संदै एकल बस्दै जाने प्रचलन बढ्न थालेको छ ।

पहिला सामूहिक परिवार थियो, त्यसपछि एकल परिवार आयो । त्यसमा पनि अहिले एक्लै बस्ने चलन छ । बच्चा–बच्ची होस्टल राख्ने घरमा श्रीमान्–श्रीमती मात्रै बस्ने चलन देखिन थाल्यो । यो चाहिं स्वतन्त्रता भन्दा पनि स्वच्छन्दता हाबी हुन थाल्यो । यी सबैको एकीकृत परिणाम चाहिं अहिले ज्येष्ठ नागरिकमा देखिएको अपराध, हत्या हो ।

यो त भयो ज्येष्ठ नागरिक माथि भएको हत्या र त्यसका केही सामाजिक सांस्कृतिक कारणहरू । यस्ता अपराध रोक्नु राज्यको दायित्व हो । तर सरकार भने ज्येष्ठ नागरिकको सुरक्षाप्रति चिन्तित देखिंदैन । कर नतिर्ने वृद्धको किन धेरै चिन्ता गर्ने भन्ने सोच राज्यमा देखिन्छ । यसको एउटा उदाहरणको रूपमा स्पेनलाई लिन सकिन्छ ।

कोभिड–१९ को महामारीले ज्येष्ठ नागरिकको निधन हुँदा स्पेनको सरकार, पोलिटिकल पार्टीहरू ‘खुसी’ भएको भनेर हामीले समाचार पढेका थियौं । स्पेन, जापान जस्ता देशमा औसत आयु बढी छ । वृद्ध नागरिक जति बढी उमेरसम्म बाँच्यो राज्यलाई त्यति नै बोझ भन्ने विडम्बनापूर्ण बुझाइ स्पेनको घटनाले देखायो ।

स्पेनको यो लक्षण हाम्रोमा पनि देखिन थालेको मेरो बुझाइ छ । अहिले हाम्रो परिवार तीन ठाउँमा छ । एउटा गाउँमा छ । आफ्नो पहिचान राखेका वृद्धहरू गाउँमै बसेका छन् । अर्को शहरमा छ । पढ्ने छोराछोरी, बुहारीहरू शहरमा बसेका छन् । अनि श्रम बेच्नेहरू विदेशमा छन् ।

एउटा परिवार तीन ठाउँमा बस्नु भनेको पारिवारिक खर्च बढ्नु सँगसँगै तीनै वटा परिवार असुरक्षित हुनु पनि हो । यसको सबैभन्दा उच्च जोखिममा अरूको सहारामा बाँच्नुपर्ने ज्येष्ठ नागरिक छन् । समाज नै अहिले अपराधीकरणको बाटोमा जान थालेको छ । सामाजिक न्याय कमजोर बन्दै गएको छ । ज्येष्ठ नागरिकको पक्षमा बोलिदिने कोही छैनन् । जसकारण, उनीहरू बढी पीडित छन् ।

ज्येष्ठ नागरिकको सुरक्षा चुनौती केही हदसम्म कम गर्न शहरकेन्द्रित भन्दा पनि गाउँकेन्द्रित परिवार हुनु आवश्यक देखिन्छ । ज्येष्ठ नागरिकको जीवन सुरक्षाकै लागि राज्यले घर–घरमा गएर पैसा बाँड्नुको साटो सामूहिक बस्ने ठाउँ बनाउने, वृद्धले काम गर्न सक्ने किसिमका उद्योग खोल्ने, सीप सिकाउने र उनीहरूमा भएको ज्ञान समेत ग्रहण गर्नुपर्ने देखिन्छ ।

(मानवशास्त्री दाहालसँग अनलाइनखबरका लागि नारायण अधिकारीले गरेको कुराकानीमा आधारित ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?