+
+
अन्तर्वार्ता :

‘वृद्धवृद्धाको सुरक्षाका लागि छुट्टै प्रहरी युनिट राख्न ढिला भइसक्यो’

महिला तथा बालबालिका सेल गठन गरे जस्तै ज्येष्ठ नागरिकको सुरक्षा र उनीहरू माथि हुने अपराधको अनुसन्धान गर्न प्रहरीको एउटा छुट्ट्रै युनिट गठन गर्न ढिला भइसकेको छ ।

छत्रबहादुर प्रधान, अध्यक्ष, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ छत्रबहादुर प्रधान, अध्यक्ष, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ
२०८१ माघ २५ गते १९:३१

२५ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयको तथ्यांकले ज्येष्ठ नागरिकमाथि हुने अपराधमा बढोत्तरी भएको देखाएको छ । अझ पछिल्लो समय ज्येष्ठ नागरिकको हत्याको ग्राफ उकालो लाग्दै गरेको देखिन्छ ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका विषयहरु संविधानमै उल्लेख भए पनि उनीहरुमाथि हुने अपराधमा भने कमी आउन सकेको छ । ज्येष्ठ नागरिककको सुरक्षा र हक अधिकारबारे उनीहरुलाई केन्द्रमा राखेर ज्येष्ठ नागरिक मासंघले काम गर्दै आएको छ ।

पछिल्लो समय श्रंखलाबद्ध रुपमा भएका ज्येष्ठ नागरिक हत्याका विषयमा केन्द्रित रहेर महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग अनलाइनखबरले कुराकानीको अंश ।

प्रहरीको तथ्यांकले ज्येष्ठ नागरिकको हत्या दर बढ्दै गएको देखाउँछ । ज्येष्ठ नागरिक महासंघले यसबारेमा कुनै पहलकदमी लिएको छैन ?

ज्येष्ठ नागरिककै हक, अधिकार, सामाजिक सुरक्षा, सामाजिक न्यायका लागि महासंघले एड्भोकेसी गर्दै आइरहेको छ । अहिले पनि हामी त्यही काम गरिरहेकै छौं, जसरी तपाईंले ज्येष्ठ नागरिकको हत्याबारे सोध्नुभयो । यो विषयमा हाम्रो पनि ध्यानाकर्षण भएर केही समय अघि मात्रै प्रहरी प्रधान कार्यालयमा कुरा राखेका थियौं । उहाँहरूले पनि सकारात्मक छौं भन्नुभएको थियो । तर अहिलेसम्म कुनै ठोस निर्णय प्रहरीले गरेको छैन ।

त्यो प्रहरीको पाटो भयो । तपाईंहरू आफैंले चाहिं ज्येष्ठ नागरिक माथि हुने अपराध तथा हत्या न्यूनीकरणका लागि के गर्नुभएको छ ?

ज्येष्ठ नागरिककै एड्भोकेसी, वृद्धाश्रम व्यवस्थापन लगायत बारेमा हामी काम गरिरहेका छौं । नढाँटी भन्नुपर्दा अहिले यो भन्दा बढी हामी केही गर्न सक्ने अवस्थामा छैनौं । हामीसँग पर्याप्त ‘म्यानपावर’ पनि छैन । आर्थिक रूपमा पनि हामी संकटमै छौं ।

आर्थिक अभावका कारण काम गर्न सकिएन भन्न खोज्नुभएको हो ?

कोभिड–१९ देखि नै हामी संकटमा छौं । न राज्यले बजेट दिएको छ, न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाले सहयोग नै गरेका छन् । कोभिडलाई कारण देखाउँदै अहिले पनि सहयोग आउन सकेको छैन । यस्तो अवस्थामा हामीले धेरै काम गर्न सकेका छैनौं ।

ज्येष्ठ नागरिकको हत्याको दर पनि कोभिडपछि नै बढेको देखिन्छ । यो कुरा पब्लिकलाई सुनाएर सहानुभूति बाँड्न खोजेको जस्तो देखिन्छ । तर महासंघ अहिले मागेर चल्नु परेको छ । ‘अक्टोबर फस्र्ट’ अर्थात् ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मा थोरै बाहेक अन्य सहयोग अहिले बन्द छ । राज्यले पनि गम्भीर रूपमा ज्येष्ठ नागरिकको सुरक्षा बारे सोचेको देखिंदैन ।

संगठनमा बसेपछि केही दिन सकियोस् भन्ने लाग्छ । तर हत्याको दर बढिरहँदा हाम्रो तर्फबाट जति पहलकदमी हुनुपर्ने हो त्यो समेत हुनसकेको छैन । यसो भन्नुपर्दा मलाई नराम्रो लाग्छ ।

ज्येष्ठ नागरिक हत्याका घटना बढ्नुको कारण चाहिं के देख्नुहुन्छ ?

३५ वर्ष प्रहरी सेवामा काम गरेर म एसएसपीबाट रिटायर्ड भएको पनि २१ वर्ष भयो । ज्येष्ठ नागरिककै क्षेत्रमा लागेको पनि १२ वर्ष भयो । पछिल्लो समय त म अध्यक्ष भएर काम गरिरहेको छु । पहिला भन्दा अहिले हत्याको दर बढेको छ ।

यसको साइनो विदेशिने युवा जमातसँग पनि जोडिएको छ । ५ वर्ष पहिला विदेशिने युवाको संख्या भन्दा अहिले बढी छ । सँगै वृद्ध हत्याको दर पनि बढेको छ । यसको मतलब ज्येष्ठ नागरिक जब एक्लै हुन्छन्, त्यसपछि उनीहरू आक्रमणको शिकार बन्छन् ।

ज्येष्ठ नागरिक, त्यसमाथि पनि एक्लै भएपछि सुरक्षा चुनौती बढेको हो त ?

तपाईंले भन्नुभएको कुरा ठिक हो । ज्येष्ठ नागरिक एक्लै को, कहाँ बसेको छ, कोसँग कति गरगहना छ । कसले कहाँबाट कति पैसा ल्यायो, कसले कति वृद्ध भत्ता बुझ्यो भन्ने बुझेर अपराध भएको देखिन्छ । तर, यी कुराहरू हामीले हरेक घर–घर, टोल–टोलमा लैजान सकेका छैनौं । अहिले त्यसैको परिणाम देखिंदैछ ।

छोराछोरी बाहिर छन् । आमाबाबुलाई कहाँ राख्ने हो, कोसँग राख्ने हो, त्यो कुरा उनीहरूले पनि बुझ्नु आवश्यक छ । यसका लागि महासंघले पनि सचेत गराउनुपर्ने हो, त्यो पनि भने अनुसार गर्न सकेका छैनौं । राज्य पनि यसमा चुकिरहेको छ । यसको मारमा अहिले ज्येष्ठ नागरिक छन् । दिनानुदिन अपराधका घटनाहरू बढिरहेका छन् ।

ज्येष्ठ नागरिक माथिको हत्या न्यूनीकरणका लागि के गर्नुपर्ला ?

भारतकै कुरा गर्नुहुन्छ भने ज्येष्ठ नागरिकको सबै डाटा लिएर प्रहरीले काम गरेको देखिन्छ । प्रहरीलाई ज्येष्ठ नागरिक सम्बन्धी हुने अपराधका बारेमा तालिम नै दिएर खटाइएको हुन्छ । उनीहरूले आफ्नो क्षेत्रको हरेक दिनको रिपोर्टिङ गरेका हुन्छन् । तर, हाम्रोमा त्यस्तो अभ्यास छैन । हाम्रोमा त्यस्तो मनिटरिङ नै छैन ।

महिला तथा बालबालिका सेल गठन गरे जस्तै ज्येष्ठ नागरिकको सुरक्षा र उनीहरू माथि हुने अपराधको अनुसन्धानका लागि छुट्टै युनिट चाहिने बेला भइसकेको छ । ज्येष्ठ नागरिकको आनीबानी, उनीहरूमाथि हुने अपराध, उनीहरूलाई गर्नुपर्ने व्यवहारको बारेमा समेत तालिम दिएर प्रहरीको एउटा युनिट नै गठन गर्नुपर्नेमा यो ढिला भइसकेको देखिन्छ ।

जनताको घर–घरमा पुग्ने भनेकै प्रहरी हो । त्यही भएर अरू सुरक्षा निकायको भन्दा प्रहरीको युनिट बढी हुन्छ । प्रहरी जस्तो प्रभावकारी अन्य संरचना नहुने भएकाले ज्येष्ठ नागरिकको सुरक्षाका लागि प्रहरीलाई नै थप सक्रिय बनाउनुपर्छ । यसका साथै घरपरिवारमा पनि संयुक्त रूपमा बस्ने संस्कृतिको विकास गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?