+
+
Shares

७ महिनामा संकलित निक्षेपभन्दा धेरै गयो कर्जा, कुन बैंकको अवस्था कस्तो ?

बिजनेस धेरै बढाउनेमा ग्लोबल, गुमाउनेमा एनआईसी एसिया अगाडि

असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते ९:१०

४ माघ, काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन् ।

बैंकहरुको मुख्य बिजनेस नै कर्जा विस्तार हो । लगानीयोग्य रकम पर्याप्त रहेको यो बेला कर्जा विस्तार गर्न सफल भएका बैंकहरूको वित्तीय विवरणमा समेत सकारात्मक प्रभाव देखिन जानेछ ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा बैंकहरूमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिन्छ । सोही अवधिमा निक्षेप संकलन जम्मा ४.२१ प्रतिशत मात्रै बढेको छ ।

असार मसान्तसम्म कुल निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब ७७ करोड रहेकोमा माघ मसान्तसम्म आउँदा २ खर्ब ४२ अर्ब २८ करोड बढेको छ । माघ मसान्तसम्म कुल निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब ५ करोड पुगेको छ ।

पछिल्लो समय कर्जा विस्तार बढ्न थालेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला बताउँछन् ।

‘बैंकमा कर्जाको माग पनि बढेको छ, सोअनुसार प्रवाह पनि भइरहेको छ’ उनले भने । आगामी एक वर्ष पर्याप्त कर्जा जाने संकेत देखिएको उनले बताए । ‘कर्जा प्रवाह बढेका कारण आन्तरिक अर्थतन्त्र पनि चलायन हुन खोजेको देखिन्छ’ उनले भने ।

बिजनेस बढाउनेमा ग्लोबल अगाडि, गुमाउनेमा एनआईसी एसिया
कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । सात महिनामा यो बैंकले ४० अर्ब रुपैयाँ कर्जा बढाएको छ । धेरै कर्जा प्रवाह गर्नेमा पनि यो बैंक पहिलो स्थानमा छ ।

माघ मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप धेरै बढाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ । ७ महिनामै सो बैंकको निक्षेप संकलन ४० अर्ब बढेको छ ।

एनआईसी एसिया बैंकको भने निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको छ । सात महिनामा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड घटेको छ ।

स्रोत : नेपाल बैंकर्स संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?