९ फागुन, काठमाडौं । भारत नयाँदिल्लीस्थित यशोभूमिमा तीन दिने पर्यटन मेला ‘साउथ एसिया ट्राभल एन्ड टुरिज्म एक्स्चेन्ज २०२५’ मा नेपाल प्रवर्द्धन गरिएको छ ।
यो मेला दक्षिण एसियाकै सबैभन्दा बृहत् मानिन्छ । जहाँ ३५ हजारभन्दा बढी आगन्तुकबीच नेपालको विविध पर्यटकीय गन्तव्य प्रवर्द्धन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । मेलामा ३४ नेपाली पर्यटन कम्पनी सहभागी थिए ।
पर्यटन बोर्डले उक्त मेलाका सहभागीलाई नेपालका प्रमुख पर्यटन गन्तव्यप्रवर्द्धन गर्ने उद्देश्यले विशेष ‘साइड इभेन्ट’ आयोजना गरेको छ ।
साइड इभेन्ट उद्घाटनमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा, नेपाल तथा भारतका उच्च सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा विभिन्न देशका प्रतिनिधि उपस्थित थिए ।
कार्यक्रममा सीईओ जोशीले नेपाल–भारतबीच सांस्कृतिक तथा भाषिक समानता रहेको उल्लेख गर्दै नेपाललाई भारतका लागि प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न पर्यटन बोर्ड प्रतिबद्ध रहेको बताए ।
उनले भारतको विशाल जनसंख्या लक्षित गर्दै धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन गर्न नवीन रणनीति अवलम्बन गरिएको जानकारी गराए ।
पर्यटन बोर्डद्वारा प्रवर्द्धन गरिएका प्रमुख रणनीतिमा सुदूरपश्चिम ट्राभल मार्ट, बौद्ध सर्किट, हिमालयन ट्राभल मार्ट लगायत विशेष कार्यक्रम रहेको जानकारी गराइयो ।
नेपाल भ्रमणका लागि भारतीय पर्यटक आकर्षण बढ्दै गइरहेको सन्दर्भमा सडक मार्गबाट नेपाल आउने पर्यटकको तथ्यांक व्यवस्थापन गर्न प्रभावकारी प्रणाली आवश्यक रहेको राजदूत शर्माले औंल्याए ।
नेपाल पर्यटन प्रवर्द्धनका लागि दिल्लीस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी थप प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साइड इभेन्टमा सहभागी भारत उत्तर प्रदेश सरकारको पर्यटन विभाग उपनिर्देशक प्रीति श्रीवास्तवले नेपाल–भारत पर्यटन प्रवर्द्धन अझ सशक्त बनाउन संयुक्त कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन मेलाले सम्बन्ध विस्तार हुने र नयाँ बजार पहिचानमा सहयोग पुग्ने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4