१८ फागुन, बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । बाँकेको कोहलपुरमा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो ।
निर्धारित समयमा कुनैपनि टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए ।
पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए ।
प्रतियोगिताको तेस्रो दिन सोमबार दिउँसो ३ बजे कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौं र राइनो फुटबल क्लब, गण्डकीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन २४ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
 
                    










 २०८१ फागुन  १८ गते २३:०७
                        २०८१ फागुन  १८ गते २३:०७                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4