
२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताएका छन् ।
तराई-मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका हुन् ।
उक्त दुस्साहसविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने बताए । यसका लागि तराई-मधेशका जनतालाई उनले अपिल पनि गरे ।
अध्यक्ष प्रचण्डले यही जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइपर्यो भने सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।
यो अभियान विल्कुल जनताको आवश्यकता र यस क्षेत्रका जनताको आवश्यकता अनुकूल भएको उनले जिकिर गरे ।
‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेशका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं । यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसनका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,’ अध्यक्ष प्रचण्डले भने ।
यो अभियानबाट जनताले ऊर्जा दिएको भन्दै उनले आफूहरूमा उत्साह थपिएको बताए । ‘भाषण गर्नका लागि मात्रै यो अभियान चलाएका होइनौं । भाषण भन्दा पनि यहाँका जनताको आर्थिक समस्या, राजनीतिक समस्या, सांस्कृतिक समस्या बुझ्ने अभियानका रूपमा लिएका छौं । निकै ठूलो मात्रामा जनताका समस्या केन्द्रित गरेका छौ,’ उनले भने ।
तराई-मधेशको विकास, सिँचाइ, मलखाद, पर्यटक, रोजगारी, सीमा क्षेत्र लगायतका समस्यालाई आफ्नो पार्टीले सदनमा आवाज उठाउने उनले बताए ।
उनले भने, ‘तराई-मधेश, हुलाकी राजमार्ग वरिपरि बस्ने जनताका समस्यालाई राष्ट्रिय रूपमा स्थापति गर्नेछौं । यहाँका समस्या समाधान गर्न पार्टीका तर्फबाट हुन सक्ने पार्टीले र सरकारलाई दबाब दिनुपर्ने भए सरकारलाई दबाब दिएर समाधान गर्न पहल गर्नेछौं ।’
‘माओवादीले चलाएको अभियानले राष्ट्रको ध्यान मधेशतिर केन्द्रित भएको छ,’ उनले भने, ‘मिडियाहरू क्रमशः मधेशतिर झर्दैछन् । ठूल्ठूला नेताहरू पनि अब मधेश नआई सुख्खै नपाउने अवस्था भएको छ । यो सबै तराई-मधेशी जनताका लागि गर्वको कुरा हो ।’
प्रतिक्रिया 4