
२५ फागुन, काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।
शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवद्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ ।
यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ । तर, सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन् । सरकारको वचनमा विश्वास नगर्ने अडान महासंघको छ ।
‘प्रधानमन्त्रीकै पनि वचनमा विश्वास गर्दैनौं । एक्सनमा मात्र विश्वास गर्छौं । वचनमा विश्वास गर्न छोडिसक्यौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा विधेयकमाथि प्रदेशमा छलफल सकिएको लामो समय भएपनि प्रक्रिया अगाडि नबढेको निष्कर्ष महासंघको छ । ‘प्रदेशमा छलफल उहिले सकिएको हो । ऐन आउन त आउँछ तर कहिले आउँछ ?,’ उनले प्रश्न गरे ।
प्रतिक्रिया 4