३ चैत, काठमाडौं । सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । देशको अर्थतन्त्र सुदृढ नभएको र जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ ।
आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरुले यसबारे सरकारको जवाफसमेत मागेका छन् ।
कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानुन बनाउन लागेको भन्ने समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘पूर्वविशिष्टलाई सेवा सुविधा दिन लागेको भन्ने समाचार सही गलत के हो ? सभामुखमार्फत् नेपाल सरकारबाट जानकारीका लागि अनुरोध गर्दछु ,’ उनले भने ।
नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि सेवा सुविधा बढाउने कुराको विरोध गरे ।
सांसद पौडेलले देश ग्रे लिस्टमा परेको र ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकांकमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरुको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गरे । त्यसको साटो जनताको पक्षमा प्रभावकारी काम गर्न उनले ध्यानाकर्षण गराए ।
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधा सम्बन्धी विधेयक नल्याउन चेतावनी दिए । राजनीति सेवा भएको भन्दै उनले यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताए । ‘कुनै एउटा व्यक्ति एकपटक निर्वाचित भयो भने, कुनै पदमा गयो भने जिन्दगीभर उसले सुविधा पाउनुपर्ने, सरकारी जागिरको पेन्सनजस्तो राजनीतिलाई बनाउनु हुँदैन, राजनीति सेवा हो, अब यस्तो कुरा बन्द गरिनुपर्छ’ उनले भने ।
राज्यबाट सेवा सुविधा पाउने वर्तमान पदाधिकारी र सांसदहरुको पनि सुविधा घटाउन उनले प्रस्ताव गरे ।
‘पहिलो कुरा त सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिन ल्याएको विधेयक रोकिनुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेर मनोमानी ढंगले जुन सुविधा दिइरहेको छ, त्यो सुविधा अन्त्य गरिनुपर्दछ,’ पूर्वमन्त्री समेत रहेका ज्वालाले भने, ‘बरु वर्तमान पदाधिकारीहरु, राज्यबाट सुविधा लिने व्यक्तिहरुको पनि सुविधा घटाउने बेला हो यो त । सांसदहरुको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसदहरु कति तयार छौं ?’
सांसद रोशन कार्कीले पनि पूर्वविशिष्टको सेवा सुविधा बढाउन नहुने धारणा राखिन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4