+
+
WC Series
पोखरा एभेन्जर्स 2025
6/0 (0.5)
VS
११५ बलमा १६० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

जब अन्धविश्वासको शिकार बन्छन् अवोध प्राणीहरू

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८१ चैत ४ गते १९:३७

बाजुरामा जिउँदै गाईलाई ‘गौदान’ दिएको भन्दै क्रुरतापूर्वक नदीमा लखेटेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि त्यस्तो कृत्य गर्नेहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई वडा अध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशन समेत दिएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिए।

पाध्य भन्छन् ‘त्यसरी गौदानको नाममा गाईलाई कुटपिट गर्नेलाई कारबाही हुन्छ। उनीहरूलाई कारबाही भयो भने अन्य व्यक्तिहरू पनि यसरी जनावरलाई क्रूर व्यवहार गर्दा कारबाहीमा परिन्छ भनेर सचेत हुन्छन् ।’

गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्ने समूहको पहिचान भइसकेको छ । तर, त्यसमा संलग्न अधिकांश मान्छेहरू मृतकको शोक बारेर बसेको हुँदा उनीहरूलाई पक्राउ नगरिएको बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरी जानकारी दिए ।

‘९ गते उहाँहरूको शोक सकिन्छ शोक सकिनेबित्तिकै पक्राउ गर्छौँ’ डिएसपी दिलीपकुमार गिरीले भने, ‘९ गतेपछि त्यो घटनाको बारेमा थप अनुसन्धान गर्छौँ । थप के कारबाही गर्ने भन्ने कुराको पनि टुङ्गो लाग्छ।’

वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठका अनुसार मुलुकी अपराध संहिता २०७४ मा पनि पशुमाथि क्रूर व्यवहार गर्न हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ । ‘गाईलाई कुटपिट गरेर नदीमा छोड्ने कार्यमा संलग्न सबै व्यक्तिहरू अपराधी हुन्’ उनी भन्छन्, ‘त्यसमा संलग्न प्रत्येक व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएर ३ वर्ष सम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।’

अन्धविश्वासको मारमा पशुहरू

‘गाईलाई नदीमा लखेटेर पार गराइयो भने पितृको पाप पखालिन्छ’ भन्दै बाजुरामा गाईलाई कुटीकुटी नदीमा लखेटियो। जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेका साउने सार्की नामक व्यक्तिको मृत्यु भएपछि आफन्त र मलामीहरू मिलेर गाईलाई लखेट्दै नदीमा हेलेका थिए ।

एउटा जीवित अनि अवोध प्राणीलाई निर्मतापूर्वक ढुंगाले हान्दै बलजफ्ती नदीमा किन लखेटियो ?

यसबारे हामीले प्रश्न गर्दा स्थानीय पत्रकार धनबहादुर बिसीको जवाफ थियो, ‘यो गौदान गरिएको हो। हामीकहाँ परम्परादेखि नै यस्तो चलन छ ।’

कसैको मृत्युपछि यसरी नै गौदान गर्दा पितृले जीवनभर गरेको पाप पखालिने अन्धविश्वास रहेछ।

यो एक आलो घटना हो, परम्पराको नाममा पशुप्राणीमाथि हुने अत्याचारको। मान्छेको आडम्बर र पाखण्डपनले कति यस्ता पशुहरू मारिए ? कतिलाई अंगभंग बनाइए ? कतिलाई बेवारिसे बनाइए ? कुनै हिसाब-किताब छैन।

धर्म र परम्पराको नाममा मान्छेले पशुमाथि यस्तो ज्यादती गर्दै आएका छन्, वर्षौदेखि । चाहे त्यो सुदूरपश्चिममा लखेट्दै–लखेट्दै राँगा–भैंसी मारिने ‘पर्व’ होस् वा खोकनाको पोखरीमा फ्याकेर कलिलो पाठालाई हारालुछ गर्ने ‘जात्रा’ नै ।

कुनै न कुनै रुपमा पशुप्राणीलाई यातनापूर्वक मार्ने सिलसिला जारी छ । गढीमाईको मेलादेखि नेपालका कतिपय मठ–मन्दिरमा दिइने पशुबलि पनि यसैको अर्को रुप हो ।

दशैंको छेकमा सुदूरपश्चिमका कतिपय ठाउँमा मेला लाग्छ । ती मेलाहरूमा राँगा, भैंसीलाई लखेट्दै, हिर्काउँदै अंगभंग बनाएर अत्यन्तै विभत्स तरिकाले मारिन्छ । यसरी जति दुःख दिएर, सताएर मारियो उत्तिनै देवी खुसी हुन्छिन् भन्ने अन्धविश्वास छ ।

ललितपुरको खोकनामा अवस्थित दे पुखु पोखरीमा भाद्र कृष्ण द्वितीयाको दिन बाख्राको कलिलो पाठोलाई पोखरीमा फ्याँकिन्छ । बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गर्छ । पोखरीमा ‘भक्त’हरूले जिउँदो पाठोलाई पानीमा डुबाउँदै–निकाल्दै हारालुछ गर्न थाल्छन् । कसैले खुट्टा लुछ्छन्, कसैले कान चुँडाउँछन्, कसैले घाँटीमा टोक्छन् । यसरी लुछाचुँडी गर्दै अबोध पाठोको ज्यान लिइन्छ ।

यस्ता घटना अरुतिर पनि व्याप्त छ । खासगरी पशुलाई सताउँदा, हत्या गर्दा ‘पाप पखालिने’, ‘सन्तान लाभ हुने’, ‘रोगव्याधि हराउने’ जस्ता अन्धविश्वास छ । यही अन्धविश्वासलाई ‘परम्परा’ भन्दै निरन्तरता दिइएको पाइन्छ ।

यस्ता परम्परालाई बढवा दिनुहुँदैन : सँस्कृतिविद् टण्डन

यस किसिमको रुढीवादलाई कायम राखियो भने समाजमा यस्तै नराम्रा कृत्य भइरहने सँस्कृतिविद् डा. गोविन्द टण्डन बताउँछन् । परम्पराका नाममा पशुमाथि हुने यस्ता हर्कतले मानवतामाथि नै प्रश्न चिह्न खडा गर्ने उनको तर्क छ ।

गाईलाई यसरी नदी नै कटाउनुपर्छ भनेर कुनै धर्मशास्त्रमा नभनिएको टण्डनले स्पष्ट पारे ।

‘शास्त्रहरूमा गाई दानको कुरा छ तर कुनै कर्णाली, कोशी वा महाकाली, बागमती नदी नै तार्नुपपर्छ भन्ने छैन’ टण्डनले भने, ‘यस खालको परम्परालाई कुनै हालतमा बढवा दिनुहुँदैन।’

गाईदानको सट्टा अरु विकल्प पनि भएको टण्डनले बताए ।

‘त्यसको सट्टामा निग्रह पनि गर्न सकिन्छ पैसा दिएर’ टण्डन भन्छन्, ‘एक रुपैयाँ, १० रुपैयाँ, १०० रुपैँया वा आफ्नो इच्छाअनुसार।’

धर्मका नाममा पशुहरूलाई दुख: दिनु यो क्रुरताको पराकाष्ठा भएको उनको ठहर छ ।यस्ता कुकर्म आगामी दिनमा नहोस् भन्नका लागि चिन्ता लिन सचेतना फैलाउन आवश्यक भएको उनले बताए ।

परम्पराको नाममा पशुमाथि हुने क्रूर व्यवहारको अन्त्य हुनुपर्छ

प्रमदा शाह, पशु अधिकारकर्मी

परम्पराको नाउँमा पशु प्राणी माथी हुने जति पनि क्रूर व्यवहारहरू छन् त्यसको बारेमा थाहा पाउने बित्तिकै हामीले त्यसको विरुद्धमा आवाज उठाएका छौँ । तर, हामीले यस विरुद्ध आवाज उठाउँदा हामीलाई नै उल्टै नकारात्मक रुपमा हेरिन्छ ।

पछिल्लो समय यस्ता विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू पनि उठाए पछि यस विषयमा मान्छेहरूले चासो दिन थालेका छन् । तैपनि यस्ता परम्पराले निरन्तरता पाइरहेको छ । यस्तो परम्परालाई अन्त्य गर्नको लागि धर्मको नाउँमा पशु प्राणीलाई दुख: दिनेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ ।

धर्मको नाउँमा, परम्पराको नाउँमा जसले पनि पशु प्राणीलाई दुख दिन्छन् भने उनीहरूले धर्मको मूल मर्म नै बुझेका छैनन् । यो मान्छेले नै बनाएको कुप्रथा हो जसलाई अन्त्य गर्नुपर्छ । सती प्रथा अन्त्य हुन्छ भने यस्ता पशुमाथि हुने दुर्व्यवहार पनि अन्त्य गर्न सकिन्छ ।

साथै परम्पराको नाउँमा पशु प्राणीलाई दुख दिनु हुँदैन भन्ने कुरा अब भन्ने पशु कल्याण ऐनमा पनि समावेश गर्नुपर्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?