+
+
Shares

२५ करोडसहित टोखाबाट समातिएका लामालाई राजस्व अनुसन्धान पठाइयो

यति धेरै रकम सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १४:४२

६ चैत, काठमाडौं । डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजस्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।

टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामल युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनलाई मंगलबार नै प्रहरीले विभागको जिम्मा लगाएको हो ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ ।

यो डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन् ।

यद्यपी उनको भनाइलाई पुष्टि हुने थप आधारहरू प्रहरीले भेट्टाएको छैन । डलरका मालिक पत्ता नलाग्दा यति ठूलो रकम कहाँबाट आयो भन्ने समेत खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?