+
+
Shares

विधेयकमा सांसदले खोजे तीन महले, नपाएपछि छलफल रोकिदिए

प्रचलित व्यवस्था, संशोधित प्रस्ताव र संशोधन गर्दा हुने प्रभावलाई तीन महलमा समेटिनु नै तीन महले हो । जहाँ नयाँ व्यवस्था राख्नुका कारण र औचित्य खुलाइएको हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते २०:३७

६ चैत, काठमाडौं । प्रस्तावित विधेयकमा तीन महले नभएपछि राष्ट्रिय सभाको कार्यसूची प्रभावित भएको छ ।

राष्ट्रिय सभामा बुधबार दुई वटा बैठक बस्ने तय भएको थियो ।

पहिलो बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल गर्ने कार्यसूची थियो । कार्यसूची अनुसार पहिलो बैठक चल्यो ।

त्यसपछि बुधबार नै अर्को बैठक राखिएको थियो । आधा घण्टा पछि बस्ने गरी स्थगित भएको राष्ट्रिय सभाको दोस्रो बैठक बस्न सकेन । अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ ।

नेताहरूका अनुसार पहिलो बैठक स्थगित भएपछि सांसदहरूले सुशासन सम्बन्धी विधेयक र सहकारी सम्बन्धी विधेयकमा तीन महले खोजे । नपाएपछि दुवै विधेयकमाथि सभामा छलफल हुन नसक्ने बताए ।

प्रचलित व्यवस्था, संशोधित प्रस्ताव र संशोधन गर्दा हुने प्रभावलाई तीन महलमा समेटिनु नै तीन महले हो । जहाँ नयाँ व्यवस्था राख्नुका कारण र औचित्य खुलाइएको हुन्छ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार राष्ट्रिय सभा नियमावलीमा विधेयकमा तीन महले हुनुपर्ने प्रावधान छ । तीन महले नभएपछि नियमावली विपरित दुवै विधेयकमाथि छलफल हुन नसक्ने अडान विपक्षी दलहरूले राखे । त्यसपछि राष्ट्रिय सभाको दोस्रो बैठक बस्न सकेन ।

तीन महले नभएपछि राष्ट्रिय सभा सचिवालयले तुरुन्तै सम्बन्धित मन्त्रालयलाई सूचना दिएको छ । सुशासन सम्बन्धी विधेयकको तीन महले संसद् सचिवालय पुगिसकेको छ । सहकारी सम्बन्धी विधेयकको तीन महले पनि प्राप्त हुने क्रममा रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

दुवै विधेयकको तीन महले प्राप्त भएपछि संसदहरूलाई वितरण गरिनेछ । त्यसमाथि सांसदहरूले अध्ययन गर्नेछन् । अब बस्ने सभाको बैठकमा दुवै विधेयकलाई अगाडि बढाउन समस्या नहुने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?