
६ चैत, हेटौंडा । बागमती प्रदेशमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार हेटौंडामा आयोजना बैंकको उद्घाटन गरेका छन् ।
आयोजना बैंक प्रदेश नीति तथा योजना आयोगबाट सञ्चालन हुनेछ । प्रदेशभित्र कार्यान्वयन हुने विकास आयोजनाको छनोट प्रक्रियालाई सहज र पादर्शी बनाउन भन्दै प्रदेश सरकारले आयोजना बैंक सञ्चालनमा ल्याएको छ ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले आयोगबाट निर्धारित मापदण्ड अनुसार बैंकको सूचना प्रणालीमा प्रविष्ट भएका योजनाको मूल्यांकन तथा प्राथमिकीकरण गरिने जनाएका छन् । ७५ अंक वा सोभन्दा माथिको योजना पहिलो प्राथमिकता र ७५ अंकभन्दा कम अंक पाएका योजनालाई दोस्रो प्राथमिकतामा राखेर जसअनुसार बजेट विनियोजना हुने उपाध्यक्ष नेपालले दाबी गरे ।
आयोजना बैंक शुभारम्भ कार्यक्रममा सहभागी भएका प्रदेश सभा सदस्यहरूले आयोजना बैंक कार्यान्वयनमा आशंका व्यक्त गरेका थिए ।
बागमती प्रदेशमा यसअघि पनि आयोजना बैंकबाट योजना छनोट गर्दै आवश्यकता र प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्ने कार्यक्रम ल्याएका थिए । तर, विगतका सरकारले यसलाई कार्यान्वयनमा ल्याउन सकेका थिएनन् ।
आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आएसँगै टुक्रे योजना र खल्तीबाट योजना हाल्ने प्रवृतिको अन्त्य हुने मुख्यमन्त्री लामाले विश्वास व्यक्त गरेका छन् ।
‘जनतामा देखिएको निराशालाई पनि आयोजना बैंकमार्फत् चिर्न सकिने छ । यसले टुक्रे र खल्तीका योजनालाई अन्त्य गर्ने भएकाले योजना बैंक प्रभावकारी बन्छ,’ मुख्यमन्त्री लामाले भने ।
सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न आयोजना बैंक महत्वपूर्ण सावित हुने उनको विश्वास छ । विगतका योजनाहरुलाई अद्यावद्यिक गरी बैंकले योजनाको प्राथमिकीकरण गर्ने मुख्यमन्त्री लामाले बताए । उनले आयोजना बैंकमार्फत् प्रदेशको सबै निर्वाचन क्षेत्रमा योजना समावेश गरिने प्रतिबद्धता जनाए ।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले योजना छनौटदेखि मूल्यांकन र प्रभावकारिताका विषयमा बढ्दो जनगुनासोलाई सम्बोधन गर्न लागि आयोजना बैंकको अवधारणा ल्याइएको बताए ।
आयोजना बैंकको अभावमा विगतमा देखिएको समस्या हल गर्ने उद्देश्य रहेको उनको भनाइ छ । मन्त्री काफ्लेले प्रदेश सरकारको गौरवको आयोजनासहित अन्य आयोजनाको प्रभावकारिताको अध्ययन भइरहेको उनले बताए ।
प्रतिक्रिया 4