
१३ चैत, उर्लाबारी । उर्लाबारी नगरपालिका हङकङ परिवारले राष्ट्रिय योग प्रतियोगिताका बिजेता नमुना बाल गृहका खेलाडीलाई नगद ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। काठमाडौंको टोखामा सम्पन्न छैटौं राष्ट्रिय योग प्रतियोगितामा स्वर्ण र रजत पदक जितेर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका ५ जना खेलाडीलाई उक्त रकम प्रदान गरिएको हो।
स्वर्ण पदक जित्ने किरण मगर, स्वेच्छा थापा तथा रजत पदक विजेता सुन्दर कार्की, चाँदनी परिवार र जय चौधरी यही चैत २६ र २७ गते मलेसियामा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय योग प्रतियोगितामा सहभागी हुँदैछन्।
प्रतियोगितामा सहभागिता जनाउन आवश्यक व्यवस्थापन खर्चका लागि सहयोग रकम प्रदान गरिएको उर्लाबारी नगरपालिका हङकङ परिवारका नेपाल प्रतिनिधि तथा उर्लाबारी-९ का वडाअध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिए ।
सहयोग रकम वडाअध्यक्ष मोक्तान र उर्लाबारी नगरपालिका हङकङ परिवारका सदस्य सुजन सेन्दाङले नमुना बाल गृहका संस्थापक सदस्य अतिहिरा राईलाई हस्तान्तरण गरे । सहयोग रकम संकलनमा उर्लाबारी नगरपालिका हङकङ परिवारका अध्यक्ष साङ्गेनाहाङ तुम्बाहाम्फे, सदस्य राकेश राई लगायतले विशेष पहल गरेका थिए।
वडा अध्यक्ष मोक्तानले खेलाडीहरूको मेहनत र सफलतालाई प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सन्तोष श्रेष्ठ, स्थानीय समाजसेवी विमला पोमु, गणेश किम्दाङ, शुक्रराज कन्दङ्वा, सानु तामाङ, विष्णु चोङबाङ लगायतको उपस्थिति थियो।
एक महिनाअघि काठमाडौंको टोखामा सम्पन्न राष्ट्रिय योग प्रतियोगितामा उर्लाबारी-७ नमुना बाल गृहका बालबालिकाले २ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतिक्रिया 4