 
																			१३ चैत,काठमाडौं । बुधबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो ।
विषादीको मात्रा धेरै भेटिएको उक्त साग उपभोग अयोग्य रहेको जनाइएको छ । यो आजैको खबर हो तर यस्तो खबर पछिल्लो समय आउने क्रम बढिरहेको छ ।
काठमाडौं उपत्यकामै उत्पादित तरकारी र उपत्यका बाहिरबाट आएका धेरै तरकारी तथा फलफूलमा पनि विषादी देखिन थालेको छ । ४ चैतमा पनि कालीमाटी तरकारी बजारको ब्रोकाउलीमा खान अयोग्य हुने गरी विषादी मात्रा भेटिएको थियो ।
ब्रोकाउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै ९ माघमा कालीमाटी बजारमा भित्रिएको हरियो सिमीमा खान अयोग्य हुने रसायन भेटिएपछि ‘होल्ड’ गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरेर ‘र्यापिड रेस्पोन्स टिम’ मार्फत अनुगमन गर्दा हरियो सिमीको एउटा नमुनामा खान अयोग्य रसायन फेला परेको थियो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार चितवनका एक तरकारी व्यवसायीले उत्पादन गरेको १ सय १४ किलो हरियो सिमीमा ४२ प्रतिशतसम्म ‘इन्जाइम इन्हिबिसन’ पाइएको हो । अब उक्त सिमी ३ दिनसम्म क्वारेन्टिनमा होल्ड गर्न लगाएर पुनः परीक्षणपछि मात्रै बजार पठाइएको थियो ।
२६ पुसमा उपत्यकामै रायोसागमा अत्यधिक विषादीको मात्रा फेला परेको थियो । एकीकृत कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अनुसार कालीमाटी बजारमा पछिल्लो केही दिन लगातार रायोसागमा विषादीको मात्रा उच्च देखिएको थियो ।
खाद्य सुरक्षा मापदण्ड बमोजिम इन्जाइम इन्हिबिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत भएकोलाई क्वारेन्टिनमा होल्ड गरी पुनः परीक्षण गरिने र ४५ प्रतिशतभन्दा बढी आए नष्ट गरिने प्रावधान रहेको प्रयोगशालाको रिपोर्ट छ ।
किसान सचेत भएनन्
एकीकृत कृषि प्रयोगशालाको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला बाली संरक्षण अधिकृत महेश तिमल्सिनाका अनुसार किसानमा जनचेतना अभाव हुँदा तरकारीमा विषादी मात्रा उच्च देखिरहेको हो ।
‘सागमा, तरकारीमा लाइकिरा र अन्य रोग देखिएपछि किसानले रासायानिक विषादी हाल्ने गरेका हुन्छन् तर त्यसपछि केही दिन नकुरी भोलिपल्टै बजार ल्याउँछन् । वेटिङ पिरियड नराखी बजार ल्याउँदा विषादीकोे मात्रा धेरै देखिने गरेको छ । खासगरी उपत्यकामा,’ उनले भने ।
तिमल्सिनाका अनुसार किसानले तरकारीमा विषादी प्रयोग गरेपछि तत्काल बारीबाट ननिकाली ‘होल्ड’ गर्दा विषादीको मात्रा धेरै कम हुन्छ ।
‘हरियो तरकारी छ भने विषादी हालेर तत्काल बाली उठाउनै हुँदैन, सुक्खा तरकारी वा फलफूलमा पनि विषादी अनुसार होल्ड गर्नुपर्छ तर सप्रेको बेलामा बेचिहाल्ने भन्ने प्रवृत्तिले पनि पछिल्लो समय बजारमा विषादीयुक्त तरकारी आइरहेको हो,’ उनले भने ।
पछिल्लो समय प्रयोगशालाले देशभरिका कृषि ज्ञान केन्द्रमार्फत किसानलाई जनचेतना जगाउने काम गर्न थालेको उनले बताए ।
७० प्रतिशत बढी किसानलाई विषको असरबारे छैन जानकारी
मुलुकमा विषादी प्रयोग गर्ने किसान यसको असरबारे सचेत नभएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो नतिजा देखाएको हो । नतिजा अनुसार ६ हजारभन्दा बढी वडामध्ये अधिकांशमा आंशिक सचेत भए पनि असरबारे जानकारी नभएको पाइएको हो ।
६ हजार ३६ वडामार्फत प्राप्त विवरण अनुसार ३ हजार ६ सय ५४ वडाका बासिन्दा मात्रै तरकारीमा प्रयोग हुने विषादीबारे आंशिक सचेत भएको पाइएको हो ।
बालीमा प्रयोग हुने बिषादीबारे सचेत बासिन्दा रहेको वडा संख्या १ हजार ७ सय ३६ छ । यो भनेको २८.८ प्रतिशत मात्रै हो । ६ सय ४६ वडा अर्थात् १०.७ प्रतिशत बासिन्दाले यस प्रकारको विषादी प्रयोगका सम्बन्धमा सचेत नै नरहेको बताएका छन् ।
प्रदेशगत तुलना गर्दा सबैभन्दा बढी सचेत बासिन्दा रहेका वडा गण्डकीमा ३६.८ प्रतिशत र बागमतीमा ३६.४ प्रतिशत छन् । यसैगरी लुम्बिनीका ३०.८ र कर्णालीका ३०.७ प्रतिशत वडाका बासिन्दा तरकारी बालीमा प्रयोग गरिने विषादीबारे सचेत रहेको गणनाले औंल्याएको छ ।
यसप्रकारको प्रतिशत कोशी, मधेस र सुदूरपश्चिमका सन्दर्भमा क्रमशः २७.४, २१.२ र २०७ रहेको नतिजाले देखाएको छ ।
सरकारले सचेतनाको काम गरेन
नेपालका किसानले तरकारी खेतीमा गर्ने विषादीबारे नै सचेतना नभएको भन्दै विषयमा राष्ट्रिय कृषक समूह महासंघ संस्थापक अध्यक्ष उद्धव अधिकारीले सरकारलाई दोष दिन्छन् ।
उनले किसानलाई व्यावसायिक खेतीका नाममा रासायिनक विष प्रयोग गर्न सरकारले नै प्रोत्साहन गरेको भन्दै चेतनास्तर निकै कम भएको बताए ।
‘आफूले तरकारी उत्पादन गर्दा प्रयोग गर्ने विषादीले मानव स्वास्थ्य, प्रकृतिमा कस्तो असर पर्छ भन्ने किसानलाई कसैले भनेन,’ उनले भने, ‘उन्नत जातको बाली लगायो, किरा लाग्न थालेपछि एग्रोभेट गएर औषधि माग्दा एग्रोभेटले व्यापार जुनमा फस्टाउँछ त्यही दिन्छन् ।’

उनले नेपाली किसानमा विषादी प्रयोग र यसको मात्रासमेत थाहा नभएको बताए । ‘कतिपय किसानले त धेरै विष हाल्दा अर्को पटकबाट सोही माटोमा खेती नै नभएको अवस्था छ,’ उनले भने, ‘तरकारीलाई हाल्ने विष जहाँ पनि जसले पनि बेचिरहेको छ । बेच्दा सचेतनाका कुरा केही छैन ।’
केही वर्ष अगाडिसम्म नेपालमा तरकारी उत्पादन गर्दा रसायनयुक्त विष नै हाल्नु नपर्ने अवस्थामा अहिले विष नहाली तरकारी उत्पादन गर्नै नसक्ने अवस्था आएको उनले बताए ।
‘किसानलाई खेती बढाउन जुन स्तरमा नेपालमा रासायनिक विष प्रयोग भयो, त्यसको प्राकृतिक रूपमा दीर्घकालीन असर त छँदैछ,’ अधिकारीले भने, ‘यसले मानव स्वास्थ्यमा पर्ने असर पनि धेरै छ, तर यसबारे चेतना सानोतिनो ढंगले गरेर हुँदैन ।’
‘जैविक विषादी प्रयोग गर्न ढिला भइसक्यो’
सरकारले विषादी बेच्ने एग्रोभेटहरूलाई नियमन गर्नुपर्ने भन्दै अब जैविक विषादीमा जानुपर्ने अधिकारी सुझाउँछन् । ‘खुर्सानीको धुलो, तितेपाती, वनमाराको रस, गौमुत्र लगायत प्रयोग गरेर जैविक रूपमा धेरै विषादीको काम गर्नुपर्छ तर रासायनिक विषमा व्यापारीहरूको कमिसन धेरै छ,’ उनले भने, ‘सरकार त्यही भएर पनि रासायनिक विष प्रयोग गर्न बढावा दिइरहेको छ ।’
अधिकारीले कृषि मोडेलमै परिवर्तन गरेर प्रांगारिक खेतीमा नगए दीर्घकालीन रूपमा अहिले माटोमा उत्पादन नै हुन नसक्ने खतरा समेत रहेको बताए । दैनिक भान्सामा तरकारीसँगै विष गइरहेको विषयमा किसानलाई तालिम, सचेतना मात्रै नभई आर्गनिक खेतीको परीक्षण र बजार पनि निश्चित गर्नुपर्ने अधिकारीको तर्क छ ।
उनका अनुसार तरकारीमा हाल्ने विषादी वार्षिक १५ लाख किलो औपचारिक हिसाबमा नेपाल भित्रिने गरेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4