
१४ चैत, हेटौंडा । हेटौंडामा बुधबार दिउँसो घरभित्रै हसिया र खुकुरी प्रहारबाट एक महिलाको हत्या भयो भने एक पुरुष गम्भीर घाइते अवस्थामा भेटिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न देखिए, २३ वर्षीय राहुल भनिने रमेश दास ।
राहुल मृतक ३५ वर्षीया गुडिया दासका कान्छो देवर हुन् । प्रहरीका अनुसार उनले नै भाउजुको हत्या गरेपछि माइलो दाइ रुपेशमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
आरोपित रमेश लागुऔषध दुर्व्यसनीमा रहेको र मानसिक रोगीसमेत रहेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धान र आरोपित रमेशको बयानबाट लागूऔषध दुर्व्यसनीका कारण घटना भएको देखिएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।
‘राहुल भनिने रमेशले लागूऔषध ड्रग्स सेवन गर्ने गरेको मेडिकल रिपोर्टले पनि देखाएको छ । घटना अघि गाँजा सेवन गरेको बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले अनलाइनखबरसँग भने ।
हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलस्थित लालबाकु दासको घरमा घटना भएको हो । प्रहरीकाअनुसार साढे २ तले घरको माथिल्लो तलामा रहेको कोठामा बुधबार दिउँसो गुडिया सुतिरहेकी थिइन् । कोठाको ढोका खुलै थियो । त्यही बेला आरोपित रमेशले छिमेकबाट दाउरा काट्न भनेर ल्याएको हसियाले भाउजुको टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
तल्लो तलामा रहेको कोठामा सुतिरहेका माइलो दाजुलाई भने घरमै रहेको खुकुरीले प्रहार भएको पाइएको छ । ‘खुकुरी घरमै रहेछ । त्यही खुकुरीले दाइलाई ढुकेर बसेको र कोठा बाहिर निस्किएपछि प्रहार गरेको देखिन्छ,’ इन्स्पेक्टर सापकोटाले भने, ‘दाइलाई घाइते बनाएको सूचना पाएर प्रहरी पुगेको थियो ।’
दाइलाई खुकुरी प्रहार गरेर भाग्ने क्रममा प्रहरीले आरोपित रमेशलाई नियन्त्रणमा लिएको हो । रमेशले आफूले ४ दिनदेखि हत्याको योजना बनाइरहेको प्रहरीसँग बताएका छन् ।
मृतक गुडियाका श्रीमान् रोशन दास भने रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान छन् । दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको छ ।
प्रतिक्रिया 4