
काठमाडौं । अमेरिकी निर्देशक एन्की सिरियाकको डेब्यु फिचर फिल्म ‘सिजन्स’को छायांकन नेपालमा पनि हुने भएको छ । हलिउड रिपोर्टर म्यागजिनले नेपालसहित न्यूयोर्क, लण्डन र क्यानडाको भ्यानकुभरमा छायांकन हुने जनाएको छ ।
यो फिल्मको शीर्ष कलाकारमा सेरेना मोटोला, सेइया मात्सुडो र रे शिराकावा जोडिएका छन् । यो फिल्ममा जापानी कलाकार पनि थपिने समाचारमा उल्लेख छ ।
विभिन्न देश र समयमा बुनिएको प्रेम, जीवन, मृत्यु र भाग्यको कथामा आधारित हुने यो फिल्मलाई अस्कर मनोनित पटकथा लेखक क्यालमान एप्पल (स्पीड फर थेस्पियन्स)ले लेखेका हुन् । सिरियाकले लेखेको ‘सिजन्स अफ अ सोल’मा यसको कथावस्तु आधारित हुने जनाइएको छ ।
यो फिल्मले प्रेममा परेका तर अलग हुन बाध्य प्रेमजोडीको कथा भन्छ जसलाई विगतले पुनः एक ठाउँमा ल्याउने प्रयासको कथा भन्छ । यो फिल्मको लागि क्यानेडियन गायिका तथा गीतकार क्रीशा टर्नरसहित दुई जापानी र हलिउडका हाइप्रोफाइल कलाकारसँग कुराकानी भैरहेको जनाइएको छ ।
सिरियाकले यो फिल्मको लागि आफूले १० वर्षदेखि लागिरहेको बताएका छन् । ‘कल्पनाको झिल्कोको रूपमा सुरु भएको कुराले मलाई लन्डनको जीवन्त सडकहरू, जापानको शान्त सौन्दर्य र नेपालको विशाल परिदृश्यहरू पार गर्दै असाधारण यात्रामा लगेको छ’ सिरियाकले द हलिउड रिपोर्टरलाई भने ।
अन्तर्राष्ट्रिय कलाकार समेटिने यो फिल्मलाई अंग्रेजी र जापानी भाषामा बनाउन लागिएको जनाइएको छ ।
प्रतिक्रिया 4