+
+
Shares

बार्सिलोनामा गुन्जियो पञ्चेबाजा

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ चैत २५ गते ७:१८

बार्सिलोना। स्पेनको पर्यटकीय शहर बार्सिलोनाको मुटु सग्रादा फैमिलिया आइतबार नेपाली रङ, धुन र संस्कृतिले गुञ्जियो । विश्वप्रसिद्ध गिर्जाघर अगाडि पारिलो घाममा ढाका टोपी, गुन्यु चोली, विभिन्न जातजातिका भेषभूषा र नेपाली झण्डाका छायाँहरू फिँजिँदा त्यो क्षण लाग्थ्यो, ‘नेपाल आफैं बोलेको छ।’

यो दृश्य अझ हृदयस्पर्शी तब भयो जब नेपाली पाठशाला बार्सिलोनाका स-साना बालबालिका परम्परागत पोशाकमा सजिएर आत्मविश्वासका साथ नेपालबारे सुनाउन थाले । उनीहरूको मुहारमा हाँसो,पहिरनमा गौरव, अनि चाल-ढालमा संस्कार मिसिएको थियो।

सामुदायिक विकास योजना प्ला कमुन्तारी सग्रादा फैमिलियाको अन्तरसांस्कृतिक विभाग र नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा सम्पन्न तीनदिने कार्यक्रमको समापन दिन नेपाल केन्द्रमा थियो।परम्परागत नृत्य, गीत र पञ्चेबाजाको समिश्रणले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो।

स्थानीय ६० वर्षीय खुवान पाब्लो फर्नान्डेज आफ्ना परिवारसँग कार्यक्रम हेर्न आएका थिए। ‘नेपालका हिमालबारे सुनेको थिएँ, तर आज त्यो संस्कृति प्रत्यक्ष देख्न पाइयो,’ उनले अनलाइनखबरसँग भने।

पञ्चेबाजाको लयमा उनले पनि कम्मर मर्काए। ‘यस्तो जीवन्तता र ऊर्जा मैले कमै ठाउँमा देखेको छु,’ उनी मुस्कुराए।

कोलम्बियाका डिएगो स्पेनमा दुई दशकदेखि बस्दै आएका हुन्। नेपाली झण्डा एकदमै फरक र आकर्षक लागेको उनले सुनाए। सयौं महिला–पुरुष र साना बालबालिका एकैसाथ पञ्चेबाजामा सहभागी भएको देख्दा उनी छक्क परे। ‘साँस्कृतिक ऊर्जा र एकता यस्तो रूपमै देख्न पाउनु भाग्यको कुरा हो,’ उनले थपे।

कार्यक्रमस्थलमा राखिएको नेपाली पर्यटन प्रवर्द्धन स्टल विदेशी दर्शकका लागि जानकारीको केन्द्र बन्यो । नेपाल झल्काउने पोस्टर, ब्रोसर र सामग्रीहरूसँगै नेपाली प्रतिनिधिहरूले विदेशी पर्यटकलाई नेपाल भ्रमणका सम्भावना बारे जानकारी दिँदै थिए।

कार्यक्रममा नेपाली राजदूत शनिल नेपालले बार्सिलोनाको मुटुमा नेपाल चिनाउने यो प्रस्तुति सांस्कृतिक कूटनीतिको उत्कृष्ट नमुना भएको बताए । ‘हामी सबै विदेशी साथीहरूलाई नेपाल भ्रमणको निम्तो दिन चाहन्छौं- जहाँ तपाईंलाई प्रकृति मात्रै होइन, आत्मीयता पनि भेटिन्छ,’ उनले भने।

बार्सिलोनास्थित नेपाली पाठशालाका बालबालिकाले लगाएका पोशाकहरूले दर्शकको ध्यान खिच्यो। स-साना नानीहरू ढाकाको टोपी, गुन्यु चोली र झकिझकाउ पहिरनमा सजिएर जब स्टेजमा चढेका थिए, दर्शकदीर्घाबाट तालीको वर्षा भयो । ‘यी नानीहरू हामीलाई हाम्रो संस्कृतिसँग पुनः जडित गराइरहेका छन्,’ अभिभावकहरू कानेखुशी गर्दै थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले प्रत्येक वर्षझैं यो पटक पनि कार्यक्रम सफल भएकोमा सहभागीलाई धन्यवाद दिए । यसपटक नेपालीको बाक्लो उपस्थिति रहेको थियो । युरोपको अन्तिम गन्तव्य बनाउँदै स्पेन छिरेका कलिला अनुहारहरू प्रष्ट देखिन्थे । स्पेनमा जस्तोसुकै दुःख र पीडा झेलेका भए पनि उनीहरूको अनुहारमा नेपालपन झल्किएको खुशी भेटिन्थ्यो ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?