 
																			२६ चैत, गुल्मी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रमै देश समृद्ध हुने बताएका छन् । देशमा हालसम्म जति काम भएका छन्, ती सबै गणतन्त्रबाट सम्भव भएको उनको भनाइ छ।
नेपाली कांग्रेस गुल्मीले मंगलबार आयोजना गरेको तेस्रो जिल्ला सम्मेलन भाग लिन तम्घास आएका महामन्त्री शर्माले भने, ‘पछिल्लो समय देशमा भएको विकास र प्रगति गणतन्त्रकै देन हो ।’नेपाल नवीन सम्भावनाको मोडमा आएको उनको भनाइ थियो ।
देशमा केही भएन भनेर निराशा नहुन उनले सबैलाई आग्रह गरे । राजावादीले गणतन्त्रमा केही भएन भनेर जनतामा भ्रम फैलाइरहेको आरोप समेत उनले लगाए ।
‘काठमाडौंको बल्खुमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रजातन्त्र पार्टी र राजावादीले आन्दोलन गरिरहेका छन् । गुल्मीको तम्घासमा नेपाली कांग्रेसले भव्य सम्मेलन गरिरहेको छ,’ उनले भने ‘यहाँ व्यावसायी र जनता सटर खोलेरै हाम्रो कुरा सुन्न चिदिचौरमा आउनुभएको छ । तर, काठमाडौंमा सबै जनात सटर बन्द गरेर ज्यान जोगाउन, आन्दोलनमा के भएको छ भनेर इन्टरनेट हेरिरहेका छन् ।’
कांग्रेस महामन्त्री शर्माले पूर्वराजालाई चुनावका लागि मैदानमा आउन चुनौती दिए । उनले भने, ‘जनता आफ्नै पक्षमा छन् भन्ने लागेको छ भने २०८४ सालको चुनावमा श्रीपेच चिह्न लिएर मैदानमा उत्रनुहोला ।’ जनताबाट दुईतिहाइ मत ल्याएर संसद् प्रवेश गर्न र संविधान संशोधन गर्न उनले पूर्वराजालाई चुनौती दिए ।
अहिलेको स्थितिमा गद्दीमा पुग्ने सपना नदेख्न उनले राजालाई सुझाव दिए । राजाले हिंसाबाट राजगद्दीमा पुग्छु भनेर गलत बाटो रोजेको उनको भनाइ छ । ‘देशमा केही भएकै छैन भन्ने गलत भाष्य निर्माण गरेर राजावादीले जनतामा भ्रम छरेका छन्,’ कांग्रेस महामन्त्री शर्माले भने ।
शिक्षकहरूको माग पूरा गर्न सबै दल एक ठाउँमा हुनुपर्ने उनले बताए । शर्माले भने, ‘संसद् खुलेको पहिलो बैठकबाट शिक्षा विधेयक पारित गर्ने सहमति गरौँ । शिक्षकलाई आन्दोलन फिर्ता गरी घर फर्किने वातावरण तयार गरौँ ।’
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4