
८ वैशाख, काठमाडौं । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ ।
कार्डिनल केविन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’
उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।
उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट सदस्य पनि थिए ।
जेसुइटहरुलाई रोममा शंकाको दृष्टिले हेरिन्थ्यो । तर पोप फ्रान्सिस चर्च परम्परावादीहरुमाझ पनि लोकप्रिय थिए ।
पोप फ्रान्सिस को हुन् ?
पोप फ्रान्सिस क्याथोलिक धर्मगुरु तथा रोमको बिशप हुन्, जसलाई विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता मानिन्छ । उनको वास्तविक नाम जोर्ज मारियो बेर्गोग्लियो हो । उनी सन् २०१३ मार्च १३ मा पोप बनेका थिए । उनी अर्जेन्टिनाबाट आएका हुन् र अमेरिका महादेश तथा दक्षिणी गोलार्धबाट पोप बन्ने पहिलो व्यक्ति हुन् ।
पोप बन्नुअघि उनी अर्जेन्टिनामा एक जेसुइट पादरी थिए र पछि बुएनोस आयर्सका आर्चबिशप बनेका थिए । सन् २०१३ मा पोप नियुक्त भएपछि उनी अमेरिका महादेशबाट पोप बन्ने पहिलो व्यक्ति बने ।
पोपको मुख्य काम के हुन्छ ?
पोपले क्याथोलिक धर्मको शिक्षालाई संरक्षण र प्रवद्र्धन गर्छन् । बाइबलका शिक्षा र क्याथोलिक परम्परा अनुसार विश्वभरका विश्वासीहरूलाई मार्गदर्शन गर्छन् ।
पोप सबै बिशपहरूको प्रमुख हुन् । उनको भूमिका विश्वभरका चर्चहरूलाई एकतामा राख्ने हुन्छ ।
गरिबी, शान्ति, न्याय, जलवायु परिवर्तन, शरणार्थी, मानव अधिकार जस्ता विषयमा पोपको धारणा विश्वभर सुन्ने गरिन्छ ।
पोप वाटिकन सिटी राज्यका प्रमुख पनि हुन्, जुन पृथ्वीको सबैभन्दा सानो देश हो ।
ठूला धार्मिक चाडपर्वहरू (जस्तै क्रिसमस, ईस्टर) मा पोपले विशेष प्रार्थना र उपदेश दिने गर्दछन् ।
पोपलाई सम्पूर्ण क्याथोलिक समुदायलाई धार्मिक, सांस्कृतिक, र राष्ट्रिय विविधताभित्र पनि एकताको सूत्रमा बाँध्ने व्यक्तिको रुपमा लिइन्छ ।
प्रतिक्रिया 4