
१५ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार प्रतिनिधिसभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१’ माथि छलफलमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाली आकाश र विमानस्थलहरूलाई व्यवस्थित र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले दुई दिनयता ७० सांसदले उठाएका जिज्ञासा परिपूरक रहेको उल्लेख गर्दै सांसदहरुमा देखिएको अठोट र संकल्पले आफूलाई पनि थप दृढ बनाएको बताए ।
‘हामीले नेपालको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूलाई सक्रिय बनाउनुपर्छ ।’
पाण्डेले विधेयकमा संशोधनको बाटो खुला रहेको बताउँदै ७२ घण्टाभित्र विभिन्न संशोधन प्रस्ताव आउने अपेक्षा व्यक्त गरे । उनले सरकार सार्थक संवादका लागि तयार रहेको र ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ अन्त्य गर्दै प्रभावकारी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अलग दुई निकाय बनाउँदा व्यवस्थापन थप प्रभावकारी र गतिशील हुने आशा व्यक्त गर्दै मन्त्री पाण्डेले कर्मचारीको सेवा सुविधा यथावत् राखिने विश्वास पनि दिलाए ।
उनले नियामक निकायमा सुधार देखिएको र भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले कुनै सम्झौता नगर्ने बताए ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन आइसकेको र अन्तिम प्रतिवेदन निष्पक्ष हुने उल्लेख गर्दै मन्त्री पाण्डेले दोषीलाई कारबाही गरिने स्पष्ट पारेका थिए ।
प्रतिक्रिया 4