 
																			१६ वैशाख, काठमाडौं । अन्य क्षेत्रमा कर्जा विस्तार खुम्चिरहेका बेला सेयर धितोमा गइरहेको कर्जा उत्साहजनक छ । असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आउँदा कुल कर्जाको वृद्धिदर जम्मा ६ प्रतिशत छ ।
तर सेयर धितोमा गएको कर्जाको वृद्धिदर भने ३१.५ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत साउन मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । फागुन मसान्तसम्म यो कर्जा बढेर १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
सामान्यतः सेयर धितो कर्जामा गएको रकम बजारमै परिचालन हुने गर्छ । तर कर्जा बढ्दै जाँदा पनि बजार भने बढ्न सकेको छैन । साउन ३१ गते बजारको परिसूचक नेप्से ३ हजार अंकसम्म पुगेको थियो, जतिबेला सेयर कर्जा ९१ अर्ब ४४ करोड प्रवाह भएको थियो ।
फागुनसम्म आउँदा यस्तो कर्जा रकम १ खर्ब १८ अर्ब ५० करोड पुगेको छ । तर फागुन मसान्तमा बजार भने घटेर २७३६ अंकमा झरेको छ । वैशाख मध्यसम्म आउँदा सेयर कर्जा अझै बढेको अनुमान छ, तथ्यांक आइसकेको छैन । तर बजार परिसूचक २६४७ अंकमा झरेको छ ।
यसले सेयर धितोमा लिएको कर्जा रकम अन्यन्त्र पनि परिचालन भएको अनुमान छ । ‘सेयर धितो राखेर लिए पनि सो कर्जा अन्य क्षेत्रमा लगानी गर्न वा चाहेको क्षेत्रमा खर्च गर्न पाइन्छ’ एक बैंकका कर्जा विभाग प्रमुखले भने ‘तर कर्जा लिने बेला फारममै प्रयोजन खुलाउनुपर्ने व्यवस्था छ ।’ सेयर धितोमा गएको कर्जा तथ्यांक बढे पनि सेयर खरिद प्रयोजनमै नबढेको हुन सक्ने उनले बताए ।

पछिल्लो समय विभिन्न सहकारीमा आएको समस्या, घरजग्गा क्षेत्रको समस्याका कारण सेयर धितो राखेर समस्या समाधानका लागि पनि कर्जा गएको हुन सक्ने अनुमान छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट राजनीतिक माहोल र गभर्नर नियुक्तिको विषयले अहिले बजारमा केही प्रभाव परेको तर बजारबाट पैसा अन्यन्त्र नगएको दाबी गर्छन् ।
‘बजारबाट पैसा अन्यन्त्र गएको छैन, कारोबार रकम सन्तोषजनक नै देखिन्छ, तर केही राजनीतिक माहोल र गभर्नर नियुक्तिका विषयलाई लगानीकर्ताले पर्खिएजस्तो देखिन्छ’ उनले भने ।
सानाभन्दा ठूला लगानीकर्ताको सेयर कर्जा उच्च दरले बढेको र ती लगानीकर्ता संस्थागत रहेको उनको भनाइ छ । ठूलो कर्जा भनेकै संस्थाले लिएको कर्जा हो । यस्तो रकम बजारमै आउने र अन्य क्षेत्रमा लैजाने वातावरण नरहेको रानाभाट बताउँछन् ।
‘यतिबेला घरजग्गा तथा अन्य व्यवसाय राम्रोसँग चल्न सकेको छैन, त्यसकारण सेयर धितो राखेर ती क्षेत्रमा कर्जा जाने सम्भावना म देख्दिनँ’ उनले भने ‘कर्जा लिनका लागि सेयर धितो धेरैले विकल्पका रुपमा लिएका हुन्छन् ।’ यतिबेला बजार पनि न्यून विन्दुमै रहेको र ब्याजदर पनि सस्तो रहेकाले सेयर कर्जा बढ्नु स्वभाविक रहेको उनको भनाइ छ ।
धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, सोही रकमको ७० प्रतिशतसम्म बैंकहरुले कर्जा दिन सक्ने व्यवस्था छ । त्यस्तै एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउँछन् भने एक बैंकले आफ्नो कोर क्यापिटलको ४० प्रतिशतसम्म यस्तो कर्जा दिन सक्छन् ।
कोर क्यापिटलको ४० प्रतिशतभन्दा बढी कर्जा प्रवाह भएमा बढी भएको रकम बराबर पूँजी कोषबाट घटाउनुपर्ने हुन्छ । यहीं व्यवस्थाका कारण बैंकहरुले मनलाग्दी रुपमा सेयर धितो कर्जा दिन सक्दैनन् ।
यतिबेला ब्याजदर घटेका कारण नै सेयर कर्जा बढेको सेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् । ‘गभर्नर नियुक्तिको विषय र राजनीतिक माहोल केही सकारात्मक हुनेवित्तिकै बजारले लय समात्नेछ’ उनले भने ।
त्यस्तै कतिपयले बजार बढ्दा सेयर खरिद गरेको तर बजार घटिसकेपछि बेचेर नोक्सानी ब्यहोर्नुभन्दा त्यहीं सेयर धितो राखेर कर्जा रकम लिएका हुन्छन् । बैंकबाट लिएको ऋण रकम एकैपटक बजार नआउने, क्रमिक रुपमा उपयुक्त समयमा आउने उनको भनाइ छ ।
‘फागुनमा ऋण लिएको पैसा फागुनमै बजारमा नजान सक्छ, त्यो रकम जान २/३ महिना पनि लाग्न सक्छ’ उनले भने ‘लगानीकर्ताले आफ्नो रणनीतिअनुसार खरिदबिक्री गरिरहन्छन् ।’

सेयर कर्जामा ठूला ऋणीको आकर्षण
सेयर कर्जामा ठूला ऋणीलाई कडाइ गर्ने उद्देश्यले नै राष्ट्र बैंकले १५ करोडको सीमा लगाएको छ । तर बैंकहरुबाट गएका ठूला कर्जाको वृद्धि दर नै उच्च देखिन्छ ।
१ करोडमाथि गएका कर्जालाई ठूला कर्जाको रुपमा व्याख्या गरिन्छ । चालु आवको फागुन मसान्तसम्म १ करोडमाथिको कर्जा रकम ७९ अर्ब १२ करोड रुपैयाँ गएको छ ।
असार मसान्तको तुलनामा फागुन मसान्तसम्म १ करोडमाथिको कर्जा रकम ४१.५ प्रतिशत बढेको छ । खासगरी संस्थागत लगानीकर्ताले लिने कर्जा अधिकांश यसै सीमाभित्रको हो । ‘राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई पहिले लगाएको २० करोडको सीमा गत मौद्रिक नीतिमार्फत हटाएपछि यस्तो कर्जा बढेको देखिन्छ’ रानाभाटले भने ।
त्यस्तै ५० लाखदेखि १ करोडसम्मको कर्जा रकम यहीं अवधिमा १८.९ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ र २५ लाखभन्दा मुनिको कर्जा ११.४ प्रतिशत मात्रै बढेको छ । यसले ठूला लगानीकर्ता (संस्थागत वा व्यक्तिगत) ले लिएको ऋणको वृद्धिदर उच्च छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4