
१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका छन् ।
उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ । उनी पक्राउ परेपछि कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई ‘फैसला कार्यान्वयनका लागि’ पक्राउ गरिएको हो । ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।’
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । तर आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो । सो घटनामा परी तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
तर चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । कडायत टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।
राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
प्रतिक्रिया 4