+
+
Shares

रेशम र सीकेको एकता हेर्न गएकाहरू जब सरकारविरुद्ध नारा लगाउँदै फर्के

अक्षय तृतीयाको साइत रोजेर एकता गर्न लागेका जनमत पार्टी र नाउपा कार्यकर्ताको उल्लास रेशम चौधरीको आकस्मिक गिरफ्तारीले खोसिदियो । खुसियाली मनाउन कमलादी पुगेका उनीहरु सरकारविरुद्ध नारा लगाउँदै फर्के ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ वैशाख १७ गते २१:२२

१७ वैशाख, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एकताको लागि १७ वैशाखको तिथि तोक्नुमा विशेष कारण थियो ।

हिन्दु धार्मिक ग्रन्थ अनुसार १७ वैशाख अक्षय तृतीया तिथि पर्न जान्थ्यो । ‘अक्षय’ को अर्थ क्षति नहुने । एकता कसिलो हुने अभिलाषाले दुई पार्टीले उपयुक्त समय अक्षय तृतीयाको दिनलाई रोजेका थिए ।

तर, जनमत र नाउपा अपेक्षा गरे अनुसार आजको दिन ती दललाई सुखद हुन भने सकेन । बुधबारको लागि तोकिएको समयमा एकता घोषणा हुन सकेन । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एकता घोषणा सभा बिथोलिएपछि सत्ताविरुद्ध नाराबाजी गर्दै नेता कार्यकर्ता बाहिरिने अवस्था बन्यो । पार्टी एकताको उत्साहसहित भेला भएका नेता कार्यकर्ता निराश हुँदै फर्कनुपर्‍यो ।

नाउपाका संरक्षक रेशम चौधरीलाई कार्यक्रम हल बाहिरबाट अकस्मात् प्रहरीले पक्राउ गरेपछि एकता घोषणा सभा बिथोलियो । निर्धारित समय विहान ११ बजेदेखि कार्यक्रम सुरु गर्ने तय भएपनि तोकिएको समयमा कार्यक्रम सुरु हुन सकेको थिएन ।

हल बुकिङ नभएको कारण देखाउँदै प्रज्ञा प्रतिष्ठान प्रशासनले कार्यक्रम हलको ढोका खोलिदिएन । हल बुकिङ नहुनुलाई प्राविधिक कारण दर्शाउँदै एकता सभा दिउँसो १ बजेबाट सुरु हुने जानकारी दुई दलका नेताले गराएका थिए । निर्धारित कार्यक्रम ढिलो सुरु हुने हुँदा ११ बजेसम्म कार्यकर्ताहरू घोषणा सभा परिसरमा झण्डा सजाउनै व्यस्त थिए ।

अपरान्ह १२ बजे आसपास नाउपाका संरक्षक चौधरी प्रज्ञा भवन आए । केही बेरमा निस्किहाले । नेता कार्यकर्तालाई ‘फर्किहाल्ने र कार्यक्रम छिट्टै सुरु हुने’ बताउँदै बाहिरिए ।

प्रज्ञा प्रतिष्ठान बाहिर निस्केका उनलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीले नियन्त्रणमा लिए । सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हुँदा ‘पक्राउ परेका हुन् वा बाहिर कतै जान लागेका’ कार्यकर्ता अलमलमा परे । चौधरीलाई डिल्लीबजार कारागार पुर्‍याएको खबर नेता कार्यकर्ताको कानमा छिनभरमा पर्‍यो ।

चौधरी पक्राउ परेको खबर फैलिएसँगै उत्साहित नेता कार्यकर्ता निराश भए । एकता सभा हुने/नहुने अन्योल बढ्यो । एकता घोषणा सभा स्थगित भएको जानकारी गराउन जनमतका प्रवक्ता डा.शरदसिंह यादव उपस्थित भए । पत्रकारसँग प्रवक्ता यादवले भने, ‘एउटा दलको संरक्षकज्यू नै पक्राउ परेपछि एकता आजको एकता प्रक्रिया रोक्नुपर्ने भयो । अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’

एकताका लागि उत्साहका साथ उपस्थित नेता कार्यकर्ताको बुझाइमा दुई पार्टीको एकता हुन नदिने ‘कुत्सित मनसाय’ले चौधरीलाई पक्राउ गरिएको हो । नाउपाका उपाध्यक्ष राजेश अधिकारीले सरकार र मधेसवादी दलहरुले एकता हुन नदिन चौधरीलाई पक्राउ गरिएको आरोप लगाए ।

‘दुई दल एकता भएपछि मधेसका दल फुट्ने अवस्था थियो । सुदूरपश्चिममा हाम्रो प्रतिस्पर्धी अर्को कोही छँदै छैन,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘कहिले पनि क्षय नहुने र नहार्ने दिन (अक्षय तृतीया) पारेर एकता गर्न लागेका थियौं । सरकारलाई पचेन ।’

मधेसलाई आधार क्षेत्र बनाएर उदाएको जनमत र सुदूरपश्चिम (विशेष गरी थारु समुदाय) बाट राजनीतिमा आएको नाउपाले गत निर्वाचनदेखि नै एकीकरणको प्रयास गरेका थिए । एकताको अन्तिम निर्णय गत महिना गरिएको थियो । दुबै दलको केन्द्रीय समिति एकताको निर्णयलाई अनुमोदन गरेर आजका लागि एकीकरण तय गरिएको थियो ।

एकता हुने घोषणा गरेसँगै बिथोल्नका लागि राज्यपक्ष र मधेसवादी दलहरूले चलखेल गरिरहेको ती दुवै दलका नेता कार्यकर्ताको बुझाइ छ । जनमतको केन्द्रीय सदस्य रिता शर्मा यादवले एकता हुन नदिने संकेत आफूले केही दिनअघि प्राप्त गरेको शीर्ष तहका नेतालाई जानकारी गराएको दाबी गरिन् ।

उनले भनिन्, ‘मैले नेताहरूलाई भनेको थिएँ । उहाँहरूले भन्नुभयो । केही हुँदैन । एकता हुन नदिन धम्कीे यस्तो यस्तो आइरहेको छ भनेर ३/४ दिन अघि नै मैले भनेकी थिएँ ।’

बुधबार चौधरीलाई अकस्मात् पक्राउ गर्नुलाई पहिचानवादी शक्ति एकीकृत हुनै नदिने सरकारी प्रपञ्चका रुपमा जनमत र नाउपाको बुझाई छ । जनमत र नाउपा एकता गर्नुपर्ने कारणमा पहिचानवादी एकीकरणका रुपमा अथ्र्याएका छन् ।

‘यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठूलो सन्देश सरकारले दिएको छ,’ जनमतका प्रवक्ता यादव भन्छन् ।

एकता घोषणा सभा भाँडिएपछि जनमत र नाउपाका कार्यकर्ता वर्तमान सरकार विरोधी नाराबाजीमा उत्रे । वर्तमान सरकार नश्लवादी भएको भन्दै उनीहरुले नारा लगाउँदै विरोध गरे । प्रधानमन्त्री केपी शर्मा ओली सरकार मधेसी र थारु विरोधी रहेको उनीहरूको आरोप थियो ।

दुई दल गठन पछि पहिलो वरियतामा चौधरीलाई राखिएको थियो । एकीकृत दल ‘नागरिक जनमत पार्टी’को संरक्षकमा चौधरी, कार्यकारी अध्यक्षमा डा.सीके राउत र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी दुई दलमा सहमति बनेको छ । बिहीबार एकता घोषणा हुन नसकेपनि प्रक्रिया भने नरोकिनेमा दुबै दलका नेता कार्यकर्ता ढुक्क देखिन्छन् ।

दुबै पार्टीको केन्द्रीय समितिले एकताको निर्णय गरिसकेको उल्लेख गर्दै नाउपाका केन्द्रीय सदस्य दोर्जे लामा भन्छन्, ‘दुई अध्यक्ष बसेर एकता गरेको निर्णय गरे पनि हुन्छ । घोषणा सभा नभएपनि एकता रोकिन्न ।’

प्रहरीले चौधरीलाई पक्रन सर्वोच्च अदालतका कर्मचारी महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रलाई आधार बनाएको थियो । अनधिकृत पत्र लेख्ने विष्टलाई प्रहरीले पक्राउ गरेको छ भने सर्वोच्चले चौधरीलाई छोड्न अर्कोपत्र पठाएपछि डिल्लीबजार कारागार प्रशासनले चार घण्टा पछि रिहा गरेको छ ।

जनमतका अध्यक्ष डा. सीके राउत कार्यक्रम हुने दिन पत्र लेख्नुलाई शंकास्पद मान्छन् ।

‘आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरू कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो,’ राउत भन्छन्, ‘यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो ।’

जनमत प्रवक्ता डा. यादवका अनुसार दुबै दलको संयुक्त बैठक बसेर एकीकरणको नयाँ मितिमा छलफल हुनेछ । ‘रेशम जी छुट्नुभएको छ । आजै संयुक्त बैठक बस्छौं । एकता घोषणाको अर्को मितिमा छलफल हुन्छ,’ यादवले भने ।

तस्वीरहरू : आर्यन धिमाल

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?