
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे ।
उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए ।
‘हाम्रो मुलुक उर्बर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौं भन्ने आत्मविशवासका साथ काम गरौं । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास आफैंमा जवाफ भएको टिप्पणी गरे ।
‘एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौं । अन्तरक्षिमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका एक सय एक हस्ती तयार भइसकेका छन्,’ उनले भने, ‘हामी आत्मविश्वासका अघि बढौं । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानेछौं ।
उनले सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट भने सचेत हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लु बुक)लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे । कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशीधरराम जोशीसहित विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया 4