+
+
Shares

३४ वर्षीय प्रवेश रिजाल क्रस रिभर बैंकका प्रमुख डेटा र कृत्रिम बुद्धिमत्ता (एआई) अधिकारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १२:२५

२२ वैशाख, काठमाडौं । न्युयोर्कमा अवस्थित प्रतिष्ठित वित्तीय संस्था क्रस रिभर बैंकले नेपाली मूलका युवा प्रवेश रिजाललाई आफ्नो प्रमुख डेटा तथा एआई अधिकारी पदमा नियुक्त गरेको छ।

वित्त, प्रविधि र नवप्रवर्तनको अग्रपंक्तिमा रहेको यो संस्थाले ३४ वर्षीय रिजाललाई बैंकको उच्च नेतृत्व तहमा जिम्मेवारी दिएको हो ।

क्रस रिभर बैंकले हालै स्थापित डेटा र एआई विभागको नेतृत्व जिम्मा रिजाललाई दिएको हो। बैंकको नवस्थापित परिमाणात्मक रणनीति विभाग पनि रिजालकै नेतृत्वमा रहँदै आएको थियो।

यसअघि उनले सिटीग्रुपमा ग्लोबल मोडेलिङ समूहका उपाध्यक्ष र पछि वरिष्ठ उपाध्यक्षको रूपमा कार्य गर्दै परिमाणात्मक पोर्टफोलियो मोडेलिङमा योगदान दिएका थिए।

रिजालले गहिरो प्राविधिक ज्ञान, रणनीतिक सोच र नेतृत्व क्षमताको संयोजन भएको एक दूरदर्शी वित्तीय इन्जिनियरको पहिचान बनाएका छन् । न्युयोर्क विश्वविद्यालयबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनी हाल फ्रान्सको ईडीएचईसी बिजनेस स्कूलमा वित्तमा विद्यावारिधि गर्दै छन्।

क्रस रिभर बैंकको विज्ञप्ति अनुसार, रिजाल वित्त र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत् विश्व अर्थतन्त्रलाई नयाँ परिभाषा दिइरहेका नयाँ पुस्ताका ती प्रतिनिधि हुन् ।

भर्खरै निजी भ्रमण सकेर नेपालबाट फर्किएका रिजालले यो जिम्मेवारीप्रति उत्साह व्यक्त गर्दै विश्वव्यापी वित्तीय चुनौतीहरूका बीच आफूले आर्जन गरेका सीप, अनुभव र सम्पर्कलाई नेपालको हितमा पनि उपयोग गर्ने बताए ।

सन् २००८ मा स्थापना भएको क्रस रिभर बैंक अहिले नियमनमा आधारित नवप्रविधियुक्त बैंकिङको क्षेत्रमा अग्रणी संस्था हो, जसले फिनटेक, लगानी तथा डिजिटल वित्त कम्पनीहरूलाई पेमेन्ट, ऋण तथा एम्बेडेड फाइनान्सजस्ता सेवा प्रदान गर्दै वित्तीय प्रणालीमा नवीन र प्रभावशाली काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?