
२३ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लाग्न पुगेको बताएकी छ्न् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक जना कर्मचारीको कमजोरीका कारणले कसैले दुःख पाउने विषय कम विश्वसनियत रहेको बताए । ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन । संघीयता, समावेशिता र लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ’, उनले भनिन् ।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।
आफूहरू सत्तापक्षमै रहेको उल्लेख गर्दै उनले जो जहाँ भएपनि प्रश्न गर्न पाउनु नै लोकतन्त्र रहेको बताए । प्रश्न गरेकै आधारमा नभएर तथ्यका आधारमा व्यवहार हुनुपर्ने उनको आग्रह छ ।
नाउपा अध्यक्ष श्रेष्ठले रेशम चौधरी पक्राउको विषयमा सार्वजनिक रुपमै जवाफ दिन समेत सरकारसँग माग गरेकी छन् । ‘वैशाख १७ गतेको घटनाको निश्पक्ष छानबिन होस् । सरकारले जवाफ देओस्’, उनले भनिन् ।
प्रतिक्रिया 4