
२३ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका– ४ गैरीगाउँकी झुमा दासको बाल्यकाल कष्टकर बित्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो । बुवा–आमा गुजाराका लागि बजार-बजार डुलेर चटपटे बेच्थे । १० वर्षको उमेरमै उनी बुवा-आमाको पछिपछि हाटबजार पुगिन् । चटपटे व्यापार सिकिन् । पढाइ भने छुट्यो ।
१४ वर्षकै उमेरमा झुमाको विवाह राजकुमार दाससँग भयो । बाल्यकालमै विवाह गरेकी उनले जीवन चलाउने आधार बुवा-आमासँग सिकेको चटपटे बनाउने सिप बन्यो । र, यही सिपले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।
अहिले झुमा सटर भाडामा लिएर चटपटे र पानीपुरी व्यापार गर्छिन् । श्रीमान् राजकुमार ठेलामा बजार-बजार पुगेर चटपटे बेच्छन् ।
१७–१८ वर्षअघि सुरु गरेको चटपटे व्यापारको आम्दानीले परिवार राम्रोसँग चलेको छ । घर-घडेरी पनि चटपटे व्यापारबाटै जोडिएको छ । ‘पहिले केही थिएन, त्रिपाल टागेर बसेका थियौँ, घरको छतमा चढ्ने सपना थियो, त्यो पनि पूरा भयो,’ झुमा भन्छिन्, ‘अब एउटा म्याजिक किनेर भाडामा लगाउने मन छ ।’
राजकुमार पहिले अर्कैको घरमा बस्थे । चटपटे व्यापार सुरु गरेपछि झुमाले आफ्नै पक्की घर बनाइन् । विवाहपछि श्रीमान् राजकुमारले पनि चटपटे व्यापार गरे ।
हरेक दिन दिउँसो १०–११ बजे दुवैजना व्यापारका लागि निस्कन्छन् । व्यापार बेलुका ८–९ बजेसम्म चल्छ । झुमाका अनुसार घरमा पनि अधिकांश समय चटपटे बनाउन चाहिने सामान तयार गर्दै बित्छ । घरमै सामग्री तयार गरेपछि श्रीमान्-श्रीमती सँगै व्यापारका लागि निस्कन्छन् ।
‘चटपटे बनाउन कला चाहिन्छ, राम्रो मसला चाहिन्छ,’ उनी भन्छिन्, ‘स्कुल जान पाइनँ, पहिलेदेखि नै चटपटे बनाउन सिकेँ ।’ झुमा चटपटेका लागि चाहिने मसला आफैं तयार गर्छिन्, उनकै भाषामा सिक्रेट मसला बनाउँछिन् । जसले गर्दा चटपटे र पानीपुरी खान आउनेहरूले ‘मिठो’ भन्दै तारिफ गर्छन्, तारिफ गर्नेलाई उनी ठट्टा गर्दै भन्छिन्, ‘मेरो हातमा जादु छ ।’
झुमाले चटपटे व्यापार सुरु गर्दा एक सोलीको मूल्य २ रुपैयाँ थियो । अहिले एक प्लेटको ५० रुपैयाँ पर्छ । २ रुपैयाँ हुँदा चटपटेका लागि चाहिने सामग्री सस्तो थियो । अहिले बजार भाउ आकाशिएको छ । उनका अनुसार पहिले चामल किलोको ८–१० रुपैयाँ थियो । अहिले १०० माथि पुगेको छ । ‘हिजो सबै सस्तो थियो, अहिले सामान पनि महँगो छ,’ उनले भनिन्, ‘मिहिनेत पनि निकै गर्नुपर्छ ।’

चटपटे व्यापारबाट झुमाले घडेरी र खेत पनि जोडेकी छन्, त्यो भन्दा ठूलो उपलब्धि झुमाले छोरीलाई मृत्युको मुखबाट बचाइन् ।
२०७१ सालमा उनकी छोरी आगलागीमा परिन् । ७ वर्षको उमेरमा छोरी आगलागीमा परेपछि उपचारमा २० लाखभन्दा बढी खर्च भयो । काठमाडौँमा राखेर उपचार गर्दा खर्च धेरै भयो । यो खर्चमध्ये केही चन्दा संकलन भयो । बाँकी खर्च चटपटे व्यापारले जुटायो । अहिले छोरीको अवस्था राम्रो छ ।
अथक परिश्रम र मिहिनेतले झुमाको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ । दु:खमा सुरु गरेको चटपटे व्यवसायलाई छाड्ने पक्षमा छैनन् झुमा । ‘हामी बुढाबुढी सकुन्जेल चटपटे बेचिरहन्छौँ,’ उनले भनिन् ।तर, पछिल्लो समय ठेलाको व्यापारमा स्थानीय सरकारको नजर छ । स्थानीय सरकारले सडकमा ठेला राखेर व्यापार गर्न नदिने भनेपछि झुमाले सटर भाडामा लिएकी हुन् । जसले खर्च बढाएको छ । राजकुमार भने हाटबजारमा ठेलामै व्यापार गर्छन् । यसरी व्यापार गर्दा नगर प्रहरी आए छलिनुपर्छ । उनी जस्तै सडकमा व्यापार गर्ने साना व्यापारीको ठेला बाटोमा भेटे नगर प्रहरीले उठाइदिन्छन् ।
झुमाका अनुसार चटपटे व्यापारबाट जीवनमा एकै पटक परिवर्तन आएको होइन । यसका लागि निरन्तर मिहिनेत र पसिना छ । घरजग्गा जोड्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनुपर्यो । ‘ऋण लिएर छत भएको घर बनाएँ, चटपटेबाटै विस्तारै किस्ता तिरेँ,’ उनी भन्छिन्,’ जग्गा पनि ऋणबाटै जोडेँ, अहिले धेरै राम्रो छ ।’
प्रतिक्रिया 4