
२४ वैशाख, काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) ललितपुरमा १९ वैशाखमा पूर्वविद्यार्थी भेला सम्पन्न भएको छ । जसमा करिब ४ सय पूर्वविद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाए ।
कार्यक्रम केएमसी ललितपुर पूर्वविद्यार्थी समितिको आयोजनामा बालकुमारीस्थित कलेजको सभाहलमा सम्पन्न भएको हो । अध्यक्ष अच्युतम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केएमसी नेटवर्क प्रालिका निर्देशक डा. दुर्गाजंग केसी प्रमुख अतिथि थिए ।
कार्यक्रम सांस्कृतिक प्रस्तुति, आत्मीय जमघट र प्रेरणादायी मन्तव्य मार्फत सम्पन्न भएको थियो, जसले सहभागीबीचको सम्बन्ध अझ प्रगाढ बनाएको थियो ।
भेलामा पूर्वविद्यार्थीले आपसमा आत्मीयता साटासाट गर्ने अवसर समेत पाए । संस्थाको छोटो इतिहासमै केएमसीका पूर्वविद्यार्थीले चिकित्शाशास्त्र शिक्षादेखि व्यवसाय, कानुनदेखि प्रविधि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
कार्यक्रममा केएमसी ललितपुर ‘क’ पूर्वविद्यार्थी एवं आइडीएसका प्रस्तोता सुदीपभाइ सुवेदीले केएमसीले दुइ वर्षमा किताबी ज्ञानमात्र नभई जीवनोपयोगी संस्कार समेत दिएकाले आफ्नो सफलतामा यो संस्थाको ठूलो हात रहेको बताए ।
यसले पूर्वविद्यार्थी सञ्जाललाई केवल भेटघाटको माध्यम नभएर संस्थागत प्रगतिको अभिन्न अंग बनाउने आवश्यकता झनै देखाएको छ । भेलामा पूर्वविद्यार्थीले आफूहरू केवल स्मृतिमा बाँधिएको नभई अब संस्थाको भावी समृद्धिमा प्रत्यक्ष योगदान गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रम मन्तव्य दिँदै केएमसी ललितपुरका सस्थापक प्रिन्सिपल सुरेन्द्र सुवेदीले संस्था र विद्यार्थीको सम्बन्धलाई ‘जीवनभरि कायम रहने साझेदारी’ का रूपमा व्याख्या गरे । विद्यार्थी, अध्यापक र शैक्षिक संस्थाको सम्बन्ध विद्यार्थीले संस्था छाडेर गएपछि पनि चीरस्थायी रहिरहने र एकले अर्कालाई सफल बनाउन भूमिका खेलिरहन सक्न भन्दै आफूहरूले सल्काएको शिक्षाको दियो, पूर्वविद्यार्थीले नै संसारभरि फैलाउने काम गर्ने बताए ।
अध्यक्ष अच्युतम गौतमले पूर्वविद्यार्थीको यो नेटवर्क ‘सेवाहि परमो धर्म’ लाई व्यवहारमा उतार्ने संकल्पमा आधारित रहेको बताए । पूर्वविद्यार्थीको सक्रियता र योगदानलाई औपचारिक संस्थागत स्वरूप दिन कार्यक्रम मार्फत नयाँ कार्यसमिति चयन गरिएको छ ।
भेलाले आदीप राउतलाइ अध्यक्ष चयन गर्दै उपाध्यक्षमा मेरियन कार्की र हिमाल विष्ट, सचिवमा सुनिता खड्का, कोषाध्यक्षमा सौरभ साह तेली र सहसचिवमा मिनेन्द्र यादवलाई चयन गरेको छ । सदस्यमा सत्यमसुन्दर साह, दयालशरण सत्संगी, आशिका भण्डारी, आविष्कार दाहाल, ऋजु कोइराला, सूचना केसी र सुजाता भट्टराई छन् ।
नवगठित कार्यसमितिले पूर्वविद्यार्थीलाई केवल सामाजिक भेटघाटमा सीमित नराखी, शैक्षिक सुदृढीकरण, करियर विकास र सामाजिक योगदानका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । उपस्थित पूर्वविद्यार्थीबाट आएको प्रतिबद्धताले कलेज र सञ्जालबीचको सम्बन्ध अझ गहिरो बनाउने अपेक्षा गरिएको छ ।
केएमसी ललितपुरका लागि यो भेला केवल स्मृतिको पुनर्स्थापना मात्र होइन, पूर्व विद्यार्थीको अनुभव र क्षमतालाई संस्थाको भविष्य निर्माणमा प्रयोग गर्ने ऐतिहासिक अवसर हो । नयाँ नेतृत्वको हातमा यो सञ्जालले शिक्षा र समाज दुवैमा दीर्घकालीन परिवर्तन ल्याउने आशा गरिएको छ ।
पूर्व शिक्षकहरूको समेत उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा केएमसी ललितपुरका अध्यक्ष डा. दुर्गाजंग केसी एवं हिमालयन इन्जिनियरिङ कलेजका निर्देशक किशोर गौतमले नवगठित कार्यसमितिलाई शुभकामना एवं विगतको समितिले गरेको कार्यसम्पादनको उच्च मूल्यांकन एवं प्रशंसा व्यक्त गरे ।
पदस्थापन कार्यक्रममा केएमसी ललितपुरका प्राचार्य मकुन्दकुमार गिरीले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई २३ वैशाखमा पद तथा गोपनियताको सपथ खुवाएका थिए । केएमसी ललितपुर शिक्षा मन्त्रालयले उत्कृष्ट ३ मा पुरस्कृत गरेको शैक्षिक संस्था हो ।
प्रतिक्रिया 4