+
+
Shares

प्रधानमन्त्रीद्वारा ‘सिनेपाः’ फिल्म स्टुडियो निर्माण सुरु भएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बनेपामा नयाँ फिल्म स्टुडियोको निर्माण सुरु भएको घोषणा गरे। यस स्टुडियोले नेपाली फिल्म उद्योगमा नयाँ युग ल्याउने अपेक्षा गरिएको छ।
  • सिंहासनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी सुधार र प्रविधि जडानमा जोड दिएको छ।
  • निर्माण कार्य सन् २०२६ भित्र पूरा हुने लक्ष्यसहित, यस स्टुडियोले नेपाली फिल्म उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने आशा गरिएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बनेपामा निर्माण हुन लागेको फिल्मको इन्डोर छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले ‘सिनेपाः’ स्टुडियो आरम्भ भएको घोषणा गरे ।

स्टुडियोको निर्माणमा सरकारले पूर्णरुपमा सघाउने बताउँदै प्रधानमन्त्रीले नेपाली सिने क्षेत्रको युग परिवर्तनको रुपमा आजको दिनलाई लिन मिल्ने बताए । ‘आजको दिन सिने क्षेत्रको युग परिवर्तनको दिन हो’ उनले भने ।

उनले सिनेमासहित डबिङ र गायन स्टुडियोलाई समेत समावेश गर्न सुझाव दिए । बनेपा नगरपालिका अन्तर्गतको वडा १० र १३ मा निर्माण हुन लागेको स्टुडियो प्राकृतिक हिसाबले रमणीय स्थानमा बन्न लागेको बताए ।

उनले पालुङटारमा हलिउड फिल्मको छायांकन गर्न मिल्ने ढंगले स्टुडियो निर्माणको लागि आफूले प्रस्ताव राखेको तर कलाकारले नमानेको बताए । उनले यसअघि आफू प्रधानमन्त्री हुँदा दोलखामा फिल्म नगरी बनाउन र पालुङटारमा स्टुडियो बनाउन प्रस्ताव राखेको बताए ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा स्टुडियो निर्माण सुरु भएको घोषणा गर्दै शिलापत्र समेत अनावरण गरे । उनले ‘सिनेपाः’ आफैमा ब्रान्ड बन्न सुरु भएको बताए । यति लामो पर्खाइपछि बल्ल नेपाली फिल्म क्षेत्रले स्टुडियो पाउन लागेको बताउँदै ओलीले विगतका सरकारले काम नगर्दा बल्लतल्ल काम अघि बढाएको बताए ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो पर्खाइपछि नेपाली फिल्मले सुविधासम्पन्न स्टुडियो बनाउन लागेको बताउँदै सरकारले पूर्ण तरहले सघाउने बताए । उनले चलचित्र ऐन, मिडिया काउन्सिल विधेयक, सामाजिक संजाल विधेयक संसदमा पुगेको बताउँदै पंचायती कानूनमा चलेका कानूनलाई समयसापेक्ष सुधार गर्न लागिपरेको बताए ।

पूर्वसंचारमन्त्री तथा सांसद गोकुल बासकोटाले स्टुडियो निर्माणको लागि आफूले जग्गा प्रदान गरेको बताउँदै जग्गा उपलब्ध गराउन भूमिका खेल्ने स्थानीय जनप्रतिनिधिलाई बधाइ दिए । वरिष्ठ फिल्म निर्देशक नीर शाहले एआई र प्रविधि जडान गरेर स्टुडियोलाई बहुउद्देश्यीय बनाउन सुझाए ।

उनले २०२६ सालको चलचित्र ऐनले फिल्मलाई परिभाषित गर्न नसकेको र अहिलेको प्रस्तावित ऐनले पनि फिल्म क्षेत्रलाई परिभाषित गर्न चुकेको उनले बताए । बागमती प्रदेश सांसद कञ्चन चन्द्र बादेले ‘सिनेपाः’ स्टुडियो बन्नु काभ्रेको लागि गर्व गर्न लायक दिन भएको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच राखेमा असम्भव कुरा पनि सम्भव हुने धारणा राखे । आगामी सातादेखि रियल टाइम बक्सअफिसको सुरुवात हुने डीसीले बताए । स्टुडियो, रियलटाइम बक्सअफिस र फिल्म ऐनका काम अघि बढेको बताउँदै उनले आफू सकारात्मक ढंगले अघि बढेको बताए ।

बनेपा नगरपालिकाको वडा १० र १३ को ४१ रोपनी जग्गामा अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण हुन लागेको हो । सन् २०२६ भित्र निर्माण पुरा हुने लक्ष्य राखिएको स्टुडियोको बजेट ३९ करोड नेरु छ । ठेक्का प्रक्रिया स्वीकृत गरेसँगै अहिले निर्माण प्रक्रिया सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?