
News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलको नेताको विषयमा आन्तरिक विवाद बढिरहेको छ।
- केही सांसदहरूले दलको नेताबाट भरतप्रसाद साहलाई हटाउन माग गरेका छन् र नयाँ नेताको चयन गर्न चाहन्छन्।
- प्रचण्ड नेतृत्वको बैठकले अझै समाधान खोज्न सकेको छैन र आगामी बैठक १२ जेठमा बस्ने तय भएको छ।
३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेता फेर्ने विवाद बढ्दै गएको छ ।
मधेश प्रदेशमा बैठक बसेर विवाद समाधान हुन नसकेपछि मंगलबार माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै संसदीय दलको बैठक बस्यो । तर, सो बैठकले पनि समाधान दिन सकेन ।
मंगलबार प्रचण्डसहित पार्टीका उपमहासचिव वर्षमान पुन र मातृका यादवको उपस्थिति दुई घण्टाभन्दा बढी चलेको बैठकमा केही सांसदले पदबाट राजीनामा समेत दिने चेतावनी दिएका छन् ।
सचिवालय स्रोतका अनुसार वर्तमानमा संसदीय दलका नेता भरतप्रसाद साह प्रति तीव्र असन्तुष्टि छ । उनलाई पदबाट हटाउनुपर्ने बहुमत सांसदहरूको माग गरेका छन् ।
माओवादीको मधेश प्रदेशमा ९ सांसद छन् । उनलाई दलको नेताबाट हटाउन लामो समयदेखि सांसदहरू आन्तरिक संघर्षमा छन् । १० महिनाअघि पनि ६ सांसदले हस्ताक्षरसहितको दलका उपनेता युवराज भट्टराईलाई बुझाएका थिए ।
माओवादी संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।
दलका नेता साहमाथि अर्थमन्त्री र गृहमन्त्री हुँदा आर्थिक अनियमितता गरेकोे, गत चैत अन्तिम साता मधेश प्रदेश सभा बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले गम्भीर आरोपहरू लगाएका थिए ।
एक सांसदका अनुसार प्रचण्डनिवासमा मंगलबार भएको बैठकमा सांसद सुनिता यादवले दलका नेताबाट साहलाई बर्खास्त नगरे आफूले राजीनामा दिने बताएकी थिइन् ।
‘साह जस्तो पात्रको नेतृत्वमा म अब बस्न सक्दिनँ । बरु अध्यक्षजीले मलाई राजीनामा दिन निर्देशन गर्नुस् । म राजीनामा दिन तयार छु’ उनले भनेकी थिइन् ।
अन्य सांसदहरूले पनि साहको नेतृत्व प्रति असन्तुष्टि पोखेका थिए । बैठकमा पार्टीका उपमहासचिव मातृकाप्रसाद यादव प्रति पनि असन्तुष्टि व्यक्त गरेको सहभागी एक सांसदले जानकारी दिए ।
‘यादवकै साथ पाएर साह अहिलेसम्म दलको नेतामा टिकिरहेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए । ‘साहलाई नै दलको नेता टिकाइरहनु भन्दा कुनै सांसदलाई राजिनामा गर्न लगाउनुस् । र त्यस क्षेत्रबाट तपाई उपचुनाव लडेर जितेर हाम्रो दलका नेता बन्नुस्,’ यादवलाई लक्षित गर्दै सांसद रहबर अन्सारीले आक्रोश पोखेको अर्का सांसदले जानकारी दिए ।
बैठकमा सबै ९ सांसद उपस्थित थिए । प्रदेश सांसद शारदा पहाडी मात्र दलका नेता साहको पक्षमा देखिएका ती सांसदले बताए । अन्य ६ सांसद विपक्षमा छन् भने दलका उपनेता भट्टराई तटस्थ छन् ।
सुनिता यादव, रहबर अंशारी, रजि हैदर, फकिरा महतो र माला कर्ण दलको नेताबाट साहलाई हटाउनुपर्ने पक्षमा छन् । उनीहरूले दलको नेताबाट साहलाई हटाएर मतदान प्रक्रियाबाटै अर्को नेता चयन गर्न वा अध्यक्ष प्रचण्डले तय गर्न आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्ड भने अहिले पनि साहलाई नै दलको नेतामा निरन्तरता दिने मनस्थितिमा रहेको एक सांसदले बताए । मंगलबारको बैठक निष्कर्षविहीन भएको ती सांसदले बताए ।
गत माघमै बस्ने भनिएको यो बैठक मधेशकेन्द्रित जनतासँग माओवादी जनजागरण अभियान सकिएपछि बसेको हो । अब १२ जेठमा बैठक बस्ने सहमति भएको एक सांसदले जानकारी दिए ।
प्रतिक्रिया 4