
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिएको छ।
- यस पुरस्कारले चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मानित गर्दछ।
- परिवर्तन नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न पुरस्कार र सम्मानहरू प्रदान गरिए।
काठमाडौं । अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
विहीबार राजधानीमा आयोजित समारोहमा पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा २५ हजार रुपैयाँ र पत्रकारिता पुरस्कारमा १० हजार नगद राशी समावेश छ ।
मनोज शमशेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफू र अपति हरि शमशेरको नाममा अक्षयकोष राखी यो पुरस्कारको स्थापना गरेकी हुन् ।
परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको छ । समारोहमा १० हजार राशीको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।
अभिनेता रविन्द्रसिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल ‘छन्दे’ र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ ।
तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरियो । कार्यक्रममा बोल्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ–आफ्नो शिल्पद्वारा आ–आफ्नो बिधामा रचनात्मक योगदान दिदै आएका चलचित्रकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाँउदा गर्वको अनुभूति गरेको बताए ।
प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्व स्थापित भएको बताए । निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय थिए ।
प्रतिक्रिया 4