+

भाग्यमानी नेपाली महिला क्रिकेट टोलीलाई अबको चुनौती

२०८२ जेठ  २ गते १३:४८ २०८२ जेठ २ गते १३:४८
भाग्यमानी नेपाली महिला क्रिकेट टोलीलाई अबको चुनौती

२ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत गएको मंगलबार हङकङसँगको महत्वपूर्ण खेलमा पराजित भएपछि अघिल्लो चरण पुग्ने सम्भावनामा धक्का लागेको थियो ।

त्यसपछि बिहीबार बहराइनसँगको खेलमा पनि खराब अवस्थामा पुग्दा नेपाली टोली बाहिरिने संकेत देखिएको थियो । तर कप्तान इन्दु बर्माले शानदार ब्याटिङ गर्दै नेपाललाई जिताइन् र नेपालको आशा जीवितै राखिन् ।

त्यसपछि नेपालको नजर हङकङ र बहराइनबीचको शुक्रबारको खेलमा थियो जसको नतिजाले नेपालको भाग्य निर्धारण गर्ने थियो । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपनि नेपाल आईसीसीको प्लेइङ कन्डिशन अनुसार भाग्यमानी साबित भयो ।

हङकङ कुनैपनि खेलमा पराजित नहुँदा पनि अघि बढ्न सकेन । नेपाल स्वयं पनि हङकङसँग पराजित भएको थियो । तर हङकङ त्यही एक जितमा सीमित रहँदा नेपालसँग समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढ्यो

आईसीसिको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिगपश्चात् २ वा बढी टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।

नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।

नेपालले दुवै खेल बहराइनलाई जितेको थियो । हङकङले नेपाललाई हराउँदा बाँकी ३ खेल नतिजाविहीन बने ।

हङकङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर हङकङ १ जितमै सीमित भएको हो ।

नेपालले अब अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ । दुवै टोली वरियतामा नेपालभन्दा माथि छन् । समूह चरणमा दुवै टोलीले २ जित निकाल्दा २ नतिजाविहीन भएका थिए ।

थाइल्याण्डसँग नेपाल केही महिनाअघि घरेलु मैदानमै लगातार ३ पटक पराजित भएको थियो । यूएईलाई नेपालले पछिल्लोपटक महिला एसिया कपमा हराएको थियो। त्यसअघि भने विश्वकप एसिया छनोटमै पराजित भएको थियो ।

यूएईको टोली पछिल्लो समय राम्रो लयमा देखिएको छ भने थाइल्याण्ड पनि विश्वकप खेलिसकेको टिम भएकाले नेपालका लागि दुवै टोलीसँगको खेल चुनौतीपूर्ण हुनेछन् ।

समूह चरणको अंक पनि सुपर ३ मा जोडिने भएकाले नेपाललाई कम्तीमा एक खेल जित्नैपर्ने दबाब यसै पनि रहनेछ । यूएई तुलनात्मक रूपमा थाइल्यान्ड भन्दा केही सहज प्रतिद्वन्द्वी हुनेछ ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय