
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।
- उनले सरकार गलत दिशा तर्फ गएको र मजदुर, किसानहरूको हित विपरीत कदम चालिरहेको बताए।
- माओवादी मात्रै होइन, सम्पूर्ण जनता भ्रष्टाचार र विकृतिका विरुद्ध एकजुट हुनुपर्ने बताए।
२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी- मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने ।
उनले अगाडि भने, ‘यो सबै कारणले सरकार गलत दिशा तिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ ।’
सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्य पहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जाने छौं । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशा तिर हिँडेको छ ।’
जनताको आवाजलाई, जनताको मतलाई बेवास्था गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतीलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई-मधेश-पहाड-हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनको भनाइ थियो ।
प्रतिक्रिया 4