
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
- मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको विकास र सुधारलाई प्राथमिकता दिने बताएका छन् ।
- उद्योगी व्यवसायीसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीले सुनाए ।
२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने छ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदान अतुलनीय छ,’ उनले भने ।
नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँ युगमा लैजान उद्योगी व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो ।
उनले औद्योगिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी, संरचनात्मक तथा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्ने विषय प्राथमिकतामा रहेको जानकारी गराए ।
उनले मोरङ उद्योग व्यापार संघजस्तो प्रतिष्ठित संस्थाले उद्योग–व्यापार क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै राज्य र निजी क्षेत्रबीचको सेतुका रूपमा खेल्दै आएको भूमिकाको सराहना समेत गरे ।
नेपालकै ऐतिहासिक पहिलो उद्योग वाणिज्य संघ भएकाले यसले व्यावसायिक हकहित मात्रै नभएर समग्र सामाजिक उत्तरदायीत्वसमेत निर्वाह गरिरहेको मन्त्री भण्डारीले बताए ।
प्रतिक्रिया 4