
News Summary
Generated by OK AI. Editorially reviewed.- नोरा फतेही काठमाडौं आइपुगेकी छन् र उनले पहिलोपटक नेपाल आउन पाउँदा खुशी व्यक्त गरेकी छन्।
- उनी आज बेलुका बौद्धमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो गीत ‘स्नेक’ मा प्रस्तुति दिनेछिन्।
- कार्यक्रम सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना भएको हो र यसमा नेपाली कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।
काठमाडौं । प्रस्तुतिको लागि चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । दुबईबाट नेपाल आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे ।
विमानस्थलको भीइआपी कक्षमा मिडियासँग कुराकानी गर्दै उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् । आफ्ना गीतमा नेपाली प्रतिभाले आकर्षक भिडियो बनाएर मेन्सन र ह्यासट्याग गर्ने गरेको भन्दै नेपालीको प्रशंसा गरिन् ।
आज बेलुका बौद्धमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफूले हालैको बहुचर्चित गीत ‘स्नेक’मा प्रस्तुति दिन लागेको समेत उनले बताइन् । आफू यसअघि पनि नेपाल आउन लागेको तर, बल्ल जुरेको उनले बताइन् ।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही नेपाल आएकी हुन् ।
आइतबार बिहान उनले काठमाडौंका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । आइतबार अपरान्ह उनी दुबई फिर्ने कार्यक्रम रहेको इभेन्ट म्यानेजर मनीष कार्कीले बताए ।
अहिले खल्ती र आइएमई पेबाट धमाधम टिकट विक्री भैरहेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।
कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिनेछन् ।
फतेहीको २३ सदस्यीय सांगीतिक र व्यवस्थापन टोली भने शुक्रबार नै काठमाडौं आइसकेको छ ।
तस्वीरहरू : गोपीकृष्ण चापागाईं
प्रतिक्रिया 4