
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को विजेता र फाइनलिस्टहरू विभिन्न सांगीतिक कार्यक्रमहरू र गीत रेकर्डिङमा व्यस्त छन्।
- अर्पणा आचार्यले तीन गीत रेकर्ड गरिसकेकी छन् र उनी नेपालमै बसेर आफ्नो सांगीतिक करिअरलाई अघि बढाउने योजना बनाइरहेकी छन्।
- कोचहरू र प्रतियोगीहरूले विभिन्न गीतहरू रेकर्ड गरिरहेका छन्, जसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरूको उदीयमान देखाउँछ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ६’ सकिए पनि विजेता र फाइनलिस्टको ब्यस्तता सकिएको छैन । एकपछि अर्को कार्यक्रममा उनीहरू ब्यस्त छन् ।
शनिबार राती भ्वाइसका पाँचै फाइनलिस्टले बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीसँग दर्शकलाई नचाए । यसबाहेक, गीत रेकर्ड पनि धमाधम भैरहेको देखिन्छ ।
यसबीच, फाइनलिस्ट अर्पणा आचार्यले ३ गीत रेकर्ड गरिन् । भ्वाइसमा कोचको रुपमा रहेका उदय सोताङले उनलाई प्रतियोगिताको क्रममा गरेको प्रतिबद्धताअनुसार गीत रेकर्डको मौका उपलब्ध गराए ।
अहिलेसम्म रेकर्ड भएका गीतमा सोताङकै शब्द तथा संगीतमा आधारित दुई गीत ‘ए माया’ र ‘छलछल छल्कियो ले लै’ छन् । यी दुवै गीत सुर संगम रेकर्डिङ स्टुडियोमा सुरथ प्रधानको रेकर्डिङमा तयार पारिएको हो ।
तेस्रो गीत ‘पिरतीको कथा’मा भने अर्पणासँग सार्थक लामाले पनि स्वर दिएका छन् । गीतका शब्द शम्भु मोक्तान र संगीत डीबी लामाको छ । यो गीत अलङ्कार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो जसमा विशाल निरौलाको एरेन्ज र रञ्जन राईको रेकर्डिङ/मिक्सिङ छ ।
अनलाइनखबरसँग कुरा गर्दै अर्पणाले नेपालमै बसेर सांगीतिक करिअरलाई अघि बढाउने बताइन् ।
अर्पणाका अनुसार चौथो गीत रेकर्डिङ प्रक्रियामा छ भने अन्य केही गीत पनि तयार हुँदैछन् । कोच मेलिना राईले पनि आफ्नो टिमका प्रतिस्पर्धी विकास थारुसँग गरेको वाचाअनुसार ‘सालको पात’ गीत रेकर्डको मौका दिएकी थिइन् । विजेता प्रोसेस पाण्डेले पनि वसन्त सापकोटाको कम्पोजमा एक गीत रेकर्ड गराएका छन् ।
प्रतिक्रिया 4