+
+
Shares

जमुनाहा–हिल्सा अन्तरदेशीय सडक निर्माण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दैलेखका सरोकारवालाले जमुनाह–हिल्सा द्रुत मार्ग निर्माण गर्न माग गरे।
  • सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागीहरूले उक्त सडक निर्माणलाई राष्ट्रिय एजेन्डा बनाउन आग्रह गरे।
  • जमुनाह–हिल्सा फास्ट ट्र्याक अन्तरदेशीय सडक हो, जसको सम्भाव्यता अध्ययन भइसकेको छ।

५ जेठ, सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दैलेखका स्थानीयले जमुनाह–हिल्सा द्रुत मार्ग निर्माण गर्न माग गरेका छन् । सोमबार बिहान दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले जमुनाह–हिल्सा द्रुत मार्ग निर्माणका लागि आवाज उठाउन आग्रह गरेका हुन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम पुगेका प्रचण्डले त्यहाँका सरोकारवालाहरूसँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका थिए । सोही अवसरमा सरोकारवालाहरूले कर्णाली प्रदेश सरकार स्थापना भएदेखि नै चर्चामा रहेको जमुनाह–हिल्सा अन्तरदेशीय द्रुत मार्गको निर्माणलाई राष्ट्रिय एजेन्डा बनाउन माग गरेका थिए ।

दक्षिणमा भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि उत्तरमा चीन जोड्ने हुम्लाको हिल्सा नाकासम्म निर्माण हुने भनिएको द्रुतमार्गको सम्भाव्यता अध्ययन बाहेकका थप काम हुन सकेका छैन । जमुनाह–हिल्सा फास्ट ट्र्याक आयोजना कर्णालीको लाइफलाइनका रूपमा हेरिएको अन्तरदेशीय सडक हो ।

२०७५ वैशाख १ गते जमुनाहा–हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्गका रूपमा नामकरण गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा पनि हेरिएको त्रिदेशीय सडकले चर्चा अनुसारको काम भने हुन सकेको छैन । प्रदेश सरकारकै सक्रियतामा चीनको चाइना रेल–वे कम्पनीको चाइना इन्जिनियरिङ कम्पनीले उक्त सडकको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन समेत बुझाएको छ ।

प्रतिवेदन अनुसार जमुनाह–हिल्सा फास्ट ट्र्याक निर्माण गर्न ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ठुला आयोजना संघीय सरकार मातहत रहने हुँदा कर्णाली सरकारले संघीय सरकारलाई प्राथमिकता दिएर निर्माण थाल्नुपर्ने भन्दै प्रत्येक वर्ष आग्रह समेत गर्दै आएको छ । तर संघ सरकारले भने प्राथमिकता दिएको छैन । तसर्थ प्रमुख प्रतिपक्षी दल माओवादीलाई उक्त आयोजना बारे सदनमा आवाज उठाइदिन माग गरेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकता सहितको माग पत्र समेत पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई बुझाएको छ । संघले दैलेखमा अन्वेषण तथा उत्खनन भइरहेको पेट्रोलियम पदार्थको प्रशोधन अनेत्र जिल्लामा नभई दैलेखमै हुनुपर्ने, पंचकोशी विकाश बोर्ड गठन र दैलेखमा जडीबूटी प्रसोदन केन्द्र स्थापना लगाएतका माग राखेको छ ।

कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवर्द्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै त्यहाँको विकास र समृद्धिमा दलहरूको एकता उदाहरणीय रहेको बताए । ‘यो अभियान अब माओवादीको मात्र होइन, सबै दलहरूको साझा अभियान बनेको छ । यहाँ उठेका माग र अनुभवहरू राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गछौं,’ अध्यक्ष प्रचण्डले भने ।

उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको समेत उनले स्पष्ट पारे । दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?