
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन बैठक निर्धारित समयमा बस्न सकेन।
- सरकार र विपक्षी दलहरूबीच सहमति नहुँदा बैठक सारिएको थियो।
- आजको बैठकमा चलचित्र सम्बन्धी विधेयक र पारित विधेयकको प्रतिवेदन पेश हुने थियो।
५ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार पहिलो दिन निर्धारित समयमा बैठक बस्न सकेन ।
तीन घण्टा ढिलोगरी १ बजेबाट बैठक सुचारु भएको छ । आज ११ बजेलाई तय भएको पहिलो बैठक सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसक्दा १ बजेलाई बैठक सारिएको थियो । आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसे पनि सरकार र विपक्षबीच सहमति हुन सकेको थिएन ।
विपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादीले सांसदका योजनामा बजेट थप्ने गत कार्तिकमै भएको सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिँदै आएको थियो । सदन सञ्चालनमा सहजता ल्यान सरकारले आइतबार र सोमबार निरन्तर विपक्षी दलसँग संवाद गरेको हो ।
आज साढे १२ बजेसम्म बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको बैठकम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका नेताले शुभकामना दिने कार्यसूची तय भएको छ । नेताहरुले शुभकामना दिएपछि बैठक स्थगित हुने सर्वदलीय सहमति जुटेको सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।
आजको बैठकमा चलचित्र सम्बन्धी विधेयक पेस गर्ने र संसदीय समितिबाट पारित भएका ४ विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको थियो । विधेयक र समितिबाट पारित विधेयकको प्रतिवेदन आगामी बैठकमा पेश हुने भएको छ ।
आज सोमबार नै विपक्षी दलहरुसँग सरकारको बैठक रहेको सचेतक पौडेलले बताए । विपक्षी दलसँग सहमति जुटाएर मंगलबारदेखि सदन निरन्तर सञ्चालन गर्नेमा सरकार छ । यहि अधिवेशनबाट सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।
प्रतिक्रिया 4