
News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको धार्चे गाउँपालिकामा ठेकेदारको लापरबाहीका कारण ५ करोड ३८ लाख लागतको प्रशासनिक भवन र मोटरेवल पुल निर्माण कार्य रोकिएको छ।
- ठेकेदारले ३ वर्षअघि नै सम्पन्न गर्नुपर्ने काम अझै आधा पनि पूरा नभएको र सम्पर्कमा नआएको पालिका अध्यक्षले बताए।
- सडक स्तरोन्नति र झरना पुल निर्माण जस्ता अन्य विकास योजनाहरू पनि ठेकेदारको लापरबाही र काम ढिलाइका कारण अलपत्र परेका छन्।
५ जेठ, गोरखा । उत्तरी गोरखामा पर्ने धार्चे गाउँपालिकाका अधिकांश विकास योजना अलपत्र पारेर ठेकेदार गायब भएका छन् । ठेकेदार भागेपछि पालिकाको प्रशासनिक भवनदेखि मोटरेवल पुल निर्माणसम्मका काम बीचमै रोकिएका छन् ।
५ करोड ३८ लाख लागतको प्रशासनिक भवन ३ वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म ५० प्रतिशत पनि काम भएको छैन । पिलरका रडमा खिया लागेका छन् । करिब ५ सय बोरा सिमेन्ट प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको छ । ठेकेदार गायब भएपछि भवन अलपत्र बनेको पालिकाले जनाएको छ ।
भवन निर्माणको जिम्मा विकोइ-हेमन्त जेभीले पाएको थियो । सम्झौताअनुसार ३ वर्षअघि अर्थात् २०७९ साल माघ महिनाभित्रै काम सम्पन्न गर्नुपर्ने थियो । त्यसयता दुई पटक म्याद थप भइसक्यो । थपिएको म्याद सकिँदा पनि कामको प्रगति शून्य छ । म्याद थप भएदेखि ठेकेदार गायब भएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । फोन गर्दा सम्पर्कमै आउन नचाहने उनले बताए ।
‘नयाँ भवनबाट चाँडै सेवा दिने इच्छा थियो,’ उनले भने, ‘तर ठेकेदारको लापरबाहीका कारण समस्या भयो ।’ हिमपात र ढुवानी समस्याको बहाना बनाउँदै ठेकेदार पन्छिन खोजेको उनले बताए ।
‘एक त यहाँ हिउँ नै पर्दैन । अर्को, रात्रि बस सञ्चालन हुने ठाउँमा सामान ढुवानीको समस्या कसरी हुन्छ ? त्यो सबै ठेकेदारको बहाना मात्र हो ।’ ठेक्का तोड्ने तयारीमा रहे पनि खरिद ऐनको १४औं नियमावली संशोधनले समस्या बनाएको उनले जानकारी दिए ।
पालिकाले हाल भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । ठाउँ पर्याप्त नहुँदा कार्यसम्पादन र अभिलेख व्यवस्थापनमा समस्या भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । आफ्नै भवन बने आर्थिक व्ययभार कम पर्ने उनको भनाइ छ ।
‘अहिले वार्षिक करिब ४ लाख रुपैयाँ घरभाडा तिर्नुपर्छ । आफ्नै भवन बन्यो भने त्यति पैसा बच्ने थियो,’ उनले भने । सुनारका अनुसार अहिले म्याद थपका लागि भन्दै निर्माण कम्पनीले पालिकामा निवेदन पेस गरेको छ ।
यता, बेनिघाट-आरुघाट-लार्के सडकअन्तर्गत धार्चे गाउँपालिका-७ लापुबेसीस्थित नौलीखोलामाथिको मोटरेवल पुल निर्माणको काम पनि अलपत्र छ । ८ महिनाअघि सम्पन्न भइसक्नुपर्ने उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी काम भएको छैन ।
४ करोड ३५ लाखमा पुल निर्माण गर्न सूर्योदय कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । गत साउन महिनामै सम्पन्न हुनुपर्ने उक्त पुल अहिले अलपत्र अवस्थामा छ । आउँदो असारसम्मका लागि कार्यालयले म्याद थप गरेको छ । तर अझै काम सुरु भएको छैन । काममा ठेकेदारको चरम लापरबाही देखिएको कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । गाडी गुड्ने वैकल्पिक बाटो नहुँदा पनि काममा ढिलाइ भएको उनले जानकारी दिए ।
‘बर्खाको बेला खोला बढेर काम गर्न सम्भव हुँदैन, त्यसले गर्दा पनि ढिला भएको हो,’ उनले भने, ‘ठेकेदार कम्पनीको लापरबाही पनि हो ।’ नौलीखोलामा मोटरेवल पुल बनेपछि माछाखोलासम्म बाह्रै महिना मोटर सञ्चालनमा कुनै समस्या नहुने स्थानीय बताउँछन् ।
सोही खोला नजिकै रहेको नौली झरनामा सिसाको पुल (ग्लास ब्रिज) राख्ने काम पनि सुरु हुन सकेको छैन । यही असार मसान्तभित्र सक्नेगरी ठेक्का सम्झौता भए पनि काम अघि बढेको छैन । गण्डकी प्रदेश र पालिकाको साझेदारीमा पुल निर्माण गर्न लागिएको हो ।
मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमको ८० लाख र पालिकाको ५० लाख गरी कुल १ करोड २९ लाखमा ठेक्का सम्झौता भएको हो । समय सकिन लाग्दासम्म काम सुरु नगरेको ठेकेदार अहिले भने सम्पर्कमा आएको पालिकाका प्राविधिक नरेन्द्र यादवले बताए । उनका अनुसार ठेकेदारले अहिले निर्माण सामग्री संकलनको काम गरिरहेको छ । उक्त कामको जिम्मा आईडी सरभाइबर जेभीले पाएको छ ।
झरना नजिकै कुल ३५ मिटर लम्बाइको सिसाको पुल बन्नेछ । झरना हेर्न आउने पर्यटकले उक्त पुल चढेर मजा लिनसक्ने पालिका उपाध्यक्ष सुनिला गुरुङ बताउँछिन् । पर्यटन प्रवर्द्धनमा यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।
‘नौली झरना धार्चेको पर्यटकीय स्थलमध्ये एक हो,’ उनले भनिन्, ‘त्यहाँ आएका पर्यटकलाई भुलाउन र थप आकर्षित गर्न पुल बनाउन लागेका हौं ।’ तर समय गुज्रिन लाग्दा समेत ठेकेदारले काम सुरु नगरेको उनको गुनासो छ ।

यता, पालिकाको भिसी थमन मार्ग (माछीखोलादेखि सिङ्लासम्मको सडक) स्तरोन्नतिको काम पनि विगत एक महिनादेखि ठप्प छ । अलपत्र पारेर ठेकेदार हिँडेपछि काम रोकिएको हो । सडक स्तरोन्नतिका लागि चैत २०८० मा विष्णु साङ्देन एचएसडब्लू जेभीसँग ठेक्का सम्झौता भएको पालिकाका प्राविधिक यादवले बताए । उनका अनुसार आउँदो चैत महिनामा काम सक्नुपर्छ । तर हालसम्म कामको प्रगति १८ प्रतिशत मात्र छ ।
संघको ४ करोड २४ लाख रुपैयाँ समपूरक बजेटबाट उक्त सडक स्तरोन्नति गर्न लागिएको हो । कुल ४.५ किलोमिटर दुरीको उक्त खण्डमा केही भाग नयाँ ट्र्याक खोल्ने र बाँकी स्तरोन्नति गरिने बताइएको छ । यस काममा पनि ठेकेदारको लापरबाही देखिएको छ ।
प्रतिक्रिया 4