
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले १४ कम्पनीलाई आईपीओको पाइपलाइनबाट हटाएको छ।
- बोर्डले प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई हटाएको हो।
- पुनः प्रक्रिया सुरु गर्न कम्पनीहरूले ९० भन्दा माथि नेटवर्थको पुष्टि गर्नुपर्नेछ।
५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ ।
प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनीलाई पाइपलाइनबाट हटाइएको हो ।
‘प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओ स्वीकृति दिन नसकिने भएपछि अहिले पाइपलाइनबाट हटाएर ९० भन्दा बढी भएको पुष्टि हुनेगरी पुनः प्रक्रिया सुरु गर्न भनिएको छ’ बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले अनलाइनखबरसँग भने ।
यसअघि सार्वजनिक लेखा समितिले नै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओको स्वीकृति नदिन भनेको छ । तसर्थ ती कम्पनीले अब प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि कायम गरेर सोको पुष्टि हुने कागजातसहित बोर्डमा पुनः आवेदन दिनुपर्नेछ । बोर्डमा पुनः आवेदन दिएपछि मात्रै पाइपलाइनमा थप हुनेछन् ।
पाइपलाइनबाट हटाइएका १४ कम्पनीलाई अहिलेकै प्रक्रियाबाट आईपीओको स्वीकृत दिन नसक्ने भएपछि पुनः निवेदन दिन सक्नेगरी हटाइएको घिमिरेले बताए । यसरी हटाइएका कम्पनी अधिकांश हाइड्रोपावर छन् ।
हटाइएका कम्पनीमा एपेक्स हस्पिटल, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबुलकार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, पुवाखोला वन हाइड्रोपावर, युनिक हाइडेल, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, कान्तिपुर टीभी, प्रभु हेलिकप्टर लगायत छन् ।
प्रतिक्रिया 4