
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाममा किसान आन्दोलनका शहीद मुंगालाल र मोहन महतोको स्मृति भवन र शालिकको अनावरण गरिएको हो।
- कार्यक्रममा मेयर महेन्द्र महतो र नागरिक समाजका अगुवा रामरिझन यादवले शहीदहरूको बलिदानलाई स्मरण गर्दै समाजप्रति प्रेरणा दिने बताए।
- शहीदहरू पञ्चायती निरङ्कुश व्यवस्थाविरुद्ध संघर्ष गरी बलिदान गरेका थिए, जसले समाजमा अन्यायविरुद्ध उठ्न प्रेरणा दिन्छ।
६ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर चोकमा किसान आन्दोलनका शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ ।
मंगलबार शहीद द्वय महतोको ४६औं स्मृति दिवसको अवसरमा नगरपालिकाका मेयर महेन्द्र महतो, नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा शालिक अनावरण र सभाहल उद्घाटन गरिएको हो ।
वि.सं. २०३६ साल जेठ ५ गते पञ्चायती निरङ्कुश व्यवस्थाविरुद्ध सञ्चालन गरिएको किसान आन्दोलनको क्रममा ढल्केबरमै प्रहरीको गोलीबाट मुंगालाल र मोहन महतो शहीद भएका थिए । उनीहरूलाई जनताको पक्षमा उभिएर अन्याय र शोषणविरुद्ध संघर्ष गर्ने साहसी योद्धाको रूपमा सम्झना गरिन्छ ।
कार्यक्रममा मेयर महेन्द्र महतोले शहीद मुंगालाल र मोहन महतोले पञ्चायती शासनविरुद्ध लडेर प्राणको आहुती दिएको उल्लेख गर्दै स्मृति भवन र शालिक निर्माणले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।
नागरिक अगुवा तथा लेखक रामरिझन यादवले सहिदहरूको बलिदान समाजलाई अन्यायविरुद्ध उठ्न हिम्मत दिने प्रेरणास्रोत भएको बताए । उनले भने, ‘उनीहरूको सपना-समतामूलक, न्यायपूर्ण र स्वाधीन समाज निर्माण गर्नु हो । स्मृति भवन र शालिक बनाउनु मात्रै पर्याप्त छैन । शहीदहरूको आदर्श व्यवहारमा उतार्नु नै हाम्रो साँचो कर्तव्य हो ।’
मुंगालाल मोहन महतो सशीद प्रतिष्ठानले आफ्नै जग्गामा स्थानीय र प्रदेश सरकारसहित स्थानीयहरुको आर्थिक सहयोगमा भवन तथा शालिक निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष रामकुमार महतोले बताए ।
प्रतिक्रिया 4